वेबटिभी खबर
काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने प्रस्ताव गरेका छन् । स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने मिश्रको प्रस्ताव छ ।
पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाएका हुन् । उनले ‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ शीर्षकमा १० हजार ५० शब्दको प्रस्ताव आन्तरिक छलफल र बहसका लागि पेश गरेका हुन् । यो प्रस्ताव आफ्नो व्यक्तिगत भएको उनले उल्लेख गरेका छन् ।
आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारतको स्रोत भएको उल्लेख गरेका छन् । साथै यो नेपालको अखण्डताका लागि समेत घातक हुने तथा नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकरण गर्ने अर्को कडी भएको उनको ठहर छ ।
यस्तै धर्मनिरपेक्षताको एजेन्डा ०६२/६३ को जनआन्दोलन र त्यसको सेरोफेरोमा भएको मधेस आन्दोलनमा नउठेको मिश्रको दाबी छ । ‘स्वीकार गरौं, धर्म निरपेक्षता ०६२/६३ को आन्दोलनमा न त आम नेपालीको, न त अल्पसंख्यामा रहेका धर्मावलम्वीहरूको आम आवाज थियो,’ उनले लेखेका छन् ।
यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पनि १९ असारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा संघीयता र धर्म निरपेक्षबारे जनमत संग्रह हुनुपर्ने प्रस्ताव राखेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij