वेबटिभी खबर
काठमाडौं । साताको दोस्रो कारोबारका दिन सोमबार शेयर बजारमा सुधार आएको छ ।
गत असार २९ गतेदेखि लगातार बढेको बजार साउन ५ गते ९ अंकले थियो । २८७१ बिन्दुदेखि बढेको बजार आइतबार हालसम्मकै उच्च ३०५८.६३ विन्दुमा पुगेको थियो । निरन्तर बढेको बजारबाट नाफा बुक गर्ने लगानिकर्ताहरु बढ्दा सोमबारको बजार प्रभावित भएको हो ।
सोमबार ८.२४ अंक अर्थात् ०.२७ प्रतिशतले घटेर नेप्से परिसूचक ३०५०.४२ बिन्दुमा पुगेर बन्द भएको हो । २०७२.९३ बिन्दुदेखि खुला भएको सोमबारको बजार ३०७५.५१ बिन्दुसम्म पुगेको थियो भने ३०४१.९४ बिन्दुसम्म झरेको थियो ।
सोमबार बैंकिङ समूहका लगानीकर्ताहरुले नाफा बुक गर्दा बजार सामान्य करेक्सन भएको जानकारहरु बताउँछन् । बजारमा सर्वाधिक हिस्सा ओगटेको बैंकिङ समूहको परिसूचक यस दिन सर्वाधिक २ प्रतिशतले घटेको हो ।
बैंकिङ्ग समूहसँगै यस दिन विकास बैंकको ०.७२ प्रतिशत, अन्यको ०.४९ प्रतिशत, म्युचुअल फण्डको १.४३ प्रतिशत र लगानी समूहको ०.१३ प्रतिशतले परिसूचक घटेको छ । यस दिन जलविद्युत् समूहका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३.३५ प्रतिशत बढेको छ ।
यस दिन विशाल बजार कम्पनीसहित सात वटा कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको छ । विशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी हाइड्रोपावर,माउण्टेन हाइड्रो नेपाल र ग्रीन लाईफ हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै हिमालयन उर्जा विकास कम्पनी र ङादी ग्रुप पावरको शेयर मूल्य एउटै अनुपात ९.९९ प्रतिशतले बढेको छ । सामान्य अंकले घटेको बजारमा सोमबार १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता शेयर कारोबार भएको छ ।
यो कारोबार २ सय २३ वटा कम्पनीको १ लाख ३७ हजार २ सय ४२ पटकको व्यापारमा भएको हो । अघिल्लो कारोबार दिन आइतबार नेप्सेले ऐतिहासिक उचाइ कायम गरेको दिन १४ अर्ब २३ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको ४ करोड ३९ लाख ३९ हजार २ सय १२ कित्ता शेयर कारोबार भएको थियो ।
सोमबार ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । ९.९९ प्रतिशत मूल्य वृद्धि भएको यस अवधिमा कम्पनीको ३९ करोड ३० लाख ३७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । ङादी ग्रुप पावरपछि दोस्रोमा हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३३ करोड ५६ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij