वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद विद्या भट्टराईले राष्ट्रपति विद्या भण्डारीमाथि असभ्य भाष्य निर्माण भइरहेको जिकिर गरेकी छिन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले राष्ट्रपति मुलुकको राष्ट्राध्यक्ष भएकाले राष्ट्राध्यक्षमाथि गाली गलौज गरिनु सबैका लागि प्रत्युत्पादक हुने टिप्पणी गरिन् । उनले राष्ट्राध्यक्षलाई गाली गरेर कसैले पनि स्वस्थ राजनीति गर्न नसक्ने स्पष्ट पारिन् ।
राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गराएकाले उनीविरुद्ध महाभियोग लगाउने नेपाली कांग्रेससहित सत्तासाझेदार गठबन्धनको भनाइप्रति संकेत गर्दै उनले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस कार्यान्वयन मात्र गरेको बताइन् ।
आलंकारिक पदमा रहेको राष्ट्रपति संस्थाको आलोचना हुनु दुः खद भएको भन्दै यस्ता गतिविधि सुसंस्कृत राजनीति अनुकूल नभएको सांसद् भट्टराईको भनाइ छ ।
‘प्रश्न गर्ने हक सबैको छ। तर राष्ट्राध्यक्षमाथि भएको नकारात्मक भाष्यले सुसंस्कृत राजनीति ल्याउन सक्दैन,’ उनले भनिन्।सामाजिक सञ्जालमा महिलाहरूमाथि हुने नकारात्मक टिप्पणीका घटना र महिला हिंसाको नियन्त्रणमा सरकार अग्रसर हुनुपर्ने भट्टराईले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij