वेबटिभी खबर
काठमाडौं । हामीले घरमै पोषक खानेकुरा खान सक्छौं । औषधि पसलमा किनेर भिटामिन खाने चलन पनि छ । तर त्यसरी बजारबाट किनेर निरन्तर भिटामिन खानु स्वास्थ्यका लागि राम्रो होइन् ।
भिटामिन खानुको सट्टा हामीले प्राकृतिक रुपमा पोषिलो र भिटामिनयुक्त खानेकुरा खाएर स्वास्थ्यलाई तन्दुरुस्त राख्नु उचित हुन्छ ।
आयुर्वेदले पनि घर वा करेसावारीमा पाइने प्राकृतिक बस्तुकै सेवन गर्न सिफारिस पनि गरेको छ । घरमा पाइने स्वास्थ्यबर्धक यस्ता धेरै खानेुकुरा छन्, जसलाई आयूर्वेदमा ‘सुपरफूड’ नाम दिइएको छ । यी खानेकुराले हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बलियो बनाउँछ ।
घिउ
आयूर्वेदमा घरमै बनाएको घिउलाई सुपरफूड मानिन्छ । आयुर्वेदकाअनुसार घरमै बनाएको घिउको सेवन स्वास्थ्यको लागि निकै आवश्यक छ ।
यसले हाम्रो पाचन क्षमतालाई बलियो बनाउँछ । साथै शरीरमा रहेको विकारलाई निकाल्न पनि सहयोग गर्छ । तर, घिउ खाँदा मात्रा मिलाएर ठिक्क खानु पर्छ ।
दुध
आयूर्वेदकाअनुसार तातो दुधको सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । चिसो दुधले पाचन प्रक्रियामा समस्या उत्पन्न गराउन सक्छ । राति सुत्नुभन्दा पहिले मनतातो दुध पिउनाले निन्द्रा राम्रो लाग्छ । दुधले निन्द्रा र पाचनतन्त्रलाई ठिक बनाइराख्न मद्दत गर्छ ।
कागती
कागतीले हाम्रो शरीरको पीएच लेवललाई स्वस्थ बनाईराख्न सहयोग गर्छ । कागतीमा आइरन, म्याग्नेसियम, फस्फोरस, क्याल्सियम, पोटासियम, मिनरल उपलब्ध हुन्छ । जसले शरीरलाई आवश्यक पर्ने फरक–फरक तत्वलाई पूरा गर्छ ।
अदुवा
संक्रमणबाट बच्न र शरीरको रोग प्रतिरोध क्षमतालाई बढाउनको लागि अदुवा सेवन फाइदाजनक हुन्छ । अदुवाले पाचनतन्त्रलाई बलियो बनाउँनुकासाथै महिनावारी गडबडिलाई नियन्त्रण पनि गर्छ ।
बेसार
दैनिक दाल, तरकारीमा प्रयोग गरिने बेसारलाई पनि आयुर्वेदले निकै राम्रो मानेको छ ।
बेसारमा एन्टीअक्सिडेन्टलगायत एन्टी ब्याक्टेरियल, एन्टी फंगल जस्ता गुण हुन्छन् । त्यही भएर प्राचिकालदेखि नै बेसार हाम्रो दैनिक आहारमा समावेश हुँदै आएको छ ।
आयुर्वेदले यसमा भएको औषधिय गुणलाई पहिचान गरी परापूर्वकालदेखि नै यसको प्रयोग दैनिक भोजनमा हुने व्यवस्था मिलाएको हो । यसमा भएको औषधिय गुण धेरै छन् । प्राचिनकाल देखि नै आयुर्वेदमा बेसारलाई विभिन्न औषधिको रुपमा प्रयोग गरिँदै आइएको छ ।
उमालेको पानी
पानीमा के नै हुन्छ र ? भन्ने गरेको पनि सुनिन्छ । तर, पानीले मानिसलाई निरोगी राख्नुका साथै विकारमुक्त हुन पनि सहयोग गर्छ ।
बिहान खाली पेटमा मनतातो पानी खानाले हाम्रो स्वास्थ्यमा धेरै फाइदा हुन्छ । यसले हाम्रो पेट सफा हुुनुकासाथै शरीर फूर्तिलो हुन्छ । पेट सफा नहुँदा धेरै रोग पैदा हुने गर्छ । अझ बिहानै मनतातो पानी पिउने बानीले छालालाई पनि सुन्दर बनाउँछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij