काठमाडौं– सत्तारुढ गठबन्धनले आज मन्त्रालयको बाँडफाँड टुंगो लगाउँदैछ। आज बस्ने गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँडको टुंगो लगाउनेछ।
सरकार गठन भएको लामो समयसम्म मन्त्रालय बाँडफाँडमा दलहरुबीच सहमति भएको थिएन। मन्त्रालय बाँडफाँडको टुंगो नलागेपछि मन्त्रीको टुंगो लाग्ने कुरै भएन।
यद्यपी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार यही शुक्रबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ ।
कांग्रेसमा संस्थापनबाट सचेतक पुष्पा भुसाल, डा. नारायण खड्का, मीन विश्वकर्मा, डा. डिला संग्रौलासहितका नेताहरूले यसपटक मन्त्रीका लागि दाबी गरेका छन् । यी चारमध्ये भुसाल मन्त्री बन्ने पक्का जस्तै छ। बाँकी तीन मध्ये एक जनालाई मन्त्री बनाउन देउवा तयार रहेको बताइएको छ ।
यसपटक पूर्वसंस्थापनबाट, सुजाता कोइराला, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश रसाइली स्नेहीको नाम चर्चामा छ । सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक मन्त्री बन्नेछन्। यद्यपी सिटौला समुहबाट चौधरीको सम्भावना धेरै रहेको बताइन्छ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सात प्रदेशबाट एक–एक जनालाई मन्त्री बनाउने नीति लिएका छन् । कर्णाली प्रदेशबाट जनार्दन शर्मा र वागमती प्रदेशबाट पम्फा भुसाल मन्त्री भइसकेका छन् । गण्डकी प्रदेशबाट यसपटक देवेन्द्र पौडेलको नाम चर्चामा रहेको छ । माओवादीले प्रदेशबाट मात्र नभई सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुने गरी मन्त्री बनाउने तयारी गरेको छ ।
जसअनुसार स्थायी समितिमा रहेका नेताहरूमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम पनि चर्चामा छ । मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ ।
यादवले यसअघि अवसर पाइसकेकाले मोदी र मण्डलमध्ये एक जना मन्त्री हुने सम्भावना बलियो छ । महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ ।
देउवा नेतृत्वको सरकारमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतको नाम चर्चामा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij