काठमाडौं । मन्त्रिपरिषद् विस्तार तथा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बैठकमा एमालेको माधव नेपाल पक्षबाट भने पोलिटव्युरो सदस्य डा. विजय पौडेल सहभागी छन् । शनिबार भएको बैठकमा नेपाल आफैं सहभागी थिए । तर पार्टी एकताको पक्षमा क्रियाशील नेताहरुले एकताको वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेपछि नेपालले प्रतिनिधि पठाएका हुन् ।
नेपालसँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार प्रदेश प्रमुख हेरफेर र मन्त्रिपरिषद् विस्तारबारेमा छलफल गरेर देउवालाई भेट्न बालुवाटार पुगेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष सरकारमा सहभागी पनि हुने बताएका थिए । एमाले एकता प्रयास जारी रहेकाले मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तारका बारेमा माधव नेपालसहित शीर्ष नेताहरु पुनः छलफल गरेपछि टुंगो लाग्ने बताइएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि सरकार सहभागी हुने बताइसकेको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णवहादुर खड्का, कृष्ण प्रसाद सिटौला सहभागी छन् ।
यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र शीर्ष नेता अशोक राई सहभगी छन् । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij