काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तागठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा केसीले अमेरिकी परियोजना एमसीसीको विरोध जनाउँदै गठबन्धनबाट बाहिरिने चेतावनी दिएका हुन् ।
नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर नबनेको तर एमसीसीलाई अघि बढाउने खेलमा लागेको भन्दै उनले विरोध गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो ।
‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईंहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्यो मात्रै भन्नुहुन्छ । अनि कसरी यो गठबन्धनको सरकारलाई जनताले विश्वास गर्ने ?,’ उनले आपत्ति जनाए ।
उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए । यस्तै माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी, नेपालबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, शीर्ष नेता अशोक राई, एमालेको माधव नेपाल पक्षका पोलिटब्युरो सदस्य विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी, दुर्गा पौडेललगायत सहभागी थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij