वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङका कर्मचारीलाई बोलाएर किसानले मल पाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहित ठोस योजना तीन दिनभित्र ल्याउन निर्देशन दिए ।
नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने उल्लेख गर्दै ओलीले भने ‘किसानको मल पाएनौँ भन्ने गुनासो तत्काल सम्बोधन होस । तपाईँहरू मल आपूर्ति गर्नु हुन्न, गाली चैँ नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो यहाँ ।’
सोही विषयमा ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ । हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफैं जवाफदेही हुनुपर्छ ।’ उनले आफू प्रधानमन्त्री हुने बित्तिकै मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको तर त्यो अनुसार हुन नसकेको पनि बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij