वेबटिभी खबर
गोरखा । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले उठाएका विषयहरू माओवादी आन्दोलनकै निरन्तरता भएको बताएका छन् । पार्टीले आइतबार गोरखा सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जेनजीले उठाएका मुद्दा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पारे ।
‘जेन–जी आन्दोलनले उठाएका मुद्दा हामीले विगत संविधानसभा चुनावदेखि नै उठाउँदै आएका हौँ । अब ती मुद्दा पूरा गर्न हाम्रो पहल र जोड हुनेछ,’ उनले भने ।
अन्तरिम सरकारबारे टिप्पणी गर्दै प्रचण्डले हालको सरकारलाई समर्थन जनाउने निर्णय संविधानसम्मत प्रक्रियामार्फत भएको उल्लेख गरे ।
‘केपी ओलीको सिफारिसमा राष्ट्रपतिले बनाएको अन्तरिम सरकारप्रति हामीले समर्थन जनाएका थियौँ,’ उनले भने, ‘तर हाम्रो मत संसदबाट अनुमोदन गरेर र संविधान संशोधन गरेर मात्र संसद विघटन गरौँ भन्ने थियो ।’
प्रचण्डले सबै राजनीतिक दललाई निर्वाचन तयारीमा जुट्न आग्रह गरे । ‘अब चुनाव घोषणा भइसकेको अवस्थामा चुनाव सफल पार्नु नै हाम्रो पहिलो कार्यभार हो । सरकारलाई निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गर्दछु । चुनाव हुन्छ कि हुँदैन भन्ने होइन, अब चुनावमा लाग्नु बाहेक कुनै विकल्प छैन,’ उनले भने ।
देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij