Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

अरूका लागि मरिहत्ते गर्ने नेपालका राजनीतिज्ञहरू !

अरूका लागि मरिहत्ते गर्ने नेपालका राजनीतिज्ञहरू !

  • 348
    SHARES
  • अरूका लागि मरिहत्ते गर्ने नेपालका राजनीतिज्ञहरू !

    नेपालका राजनीतिज्ञहरू आफ्ना लागि राजनीति गर्छन् कि अर्काका लागि ? राजनीति आफ्नै लागि गर्नुपर्ने हो । राजनीति आफ्नै देशका लागि गर्नुपर्ने हो । तर, हालको नेपालको राजनीतिक परिदृष्यहरूले यस्तो देखाइरहेको छैन ।

    हाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपालका प्रधानमन्त्री रहेका छन् । यसको मतलब नेपाली कांग्रेस नेपालको सत्तामा प्रमुख स्थानमा रहनु हो । तर भएका मन्त्रालयहरूजति अर्कै दलका नेताहरुलाई सुम्पनु परिरहेको छ । स्वयम् नेपाली कांग्रेससँग सीमित मन्त्रालयहरु मात्र बाँकी रहने देखिन्छ ।

    जसले गर्दा देशको शासन सत्ता र संयन्त्रहरुमा कांग्रेसको पकड र प्रभाव कमजोर हुने देखिन्छ । यसको अर्थ यो पनि हो कि, कांग्रेसको सिद्धान्तअनुसार देश चलाउन नपाउनु । बरु, अरू राजनीतिक दलकै विचार, नीति हाबी हुनु हो । अनि यस्तो भएपछि कांग्रेसका राजनीतिज्ञहरूले कसका लागि राजनीति गरेका हुन् त ? 

    राजनीतिक नियुक्तिहरू पनि अरू दलकै मान्छेहरूलाई गर्नुपर्ने होलान् । विभिन्न देशमा राजदूतहरू पनि अरू दलकै मान्छेहरूलाई नियुक्ति गर्दै पठाउनुपर्ने होलान् । प्रधानमन्त्री कांग्रेसकको भएर के गर्नु सबै–सबै लाभका पदहरू स्थानहरू अरू दलहरूकै मान्छेहरूलाई दिनु परेपछि ।

    त्यसो भए नेपाली कांग्रेसका राजनीतिज्ञहरू कसका लागि राजनीति गर्दछन् ? सबै कुरा अरूलाई नै सुम्पिनु परेपछि आफ्ना लागि राजनीति कसरी भयो ? भएभरका पदहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा, एमालेका माधव नेपाल पक्षलाई दिनुपरेपछि कांग्रेसका लागि बाँकी केही पनि नरहने भए । तब कांग्रेसका नेताहरूले कसका लागि राजनीति गरेका हुन् ?

    माधव नेपाल र उनका पक्षका राजनीतिहरूले आफ्नो राजनीतिक पार्टी एमालेका लागि नभएर नेपाली कांग्रेसका लागि राजनीति गर्दैछन् । शेरबहादुर देउवालाई विश्वासको मत दिनुले यही बताउँछ । माओवादी केन्द्र पार्टीले पनि आफ्ना लागि नभएर कांग्रेसका लागि राजनीति गरिरहेको छ । जसपाका नेताहरूले पनि त्यसै गरिरहेका छन् ।

    यी राजनीतिक पार्टीहरू र यिनका नेताहरू आफ्ना लागि काम नगरेर अर्काका लागि काम किन गर्दछन् ? आ–आफ्ना राजनीतिक पार्टी बलियो बनाउनुका साटो अन्य पार्टीका लागि मरिहत्ते गरिरहेका छन् । सुन्दा, हेर्दा पनि उदेकै लाग्दछ । कारणहरू जे जस्ता भए पनि आफ्ना लागि र आफ्नै पार्टीका लागि राजनीति गर्नुपर्नेमा अरूका लागि राजनीति गर्नुले कस्तो राजनीतिक संस्कार बस्ने हो अनुमान लाउन गाह्रो हुने भो ।

    नेकपा एमाले (ओलीपक्ष) अहिले प्रतिपक्षमा छ । एमालेले पनि अरू राजनीतिक पार्टीहरूका लागि लाभ पुग्ने राजनीति गरिरहेको देखिन्छ । केपी शर्मा ओलीजस्ता अनुभवी राजनीतिज्ञले पनि अरूलाई नै लाभ पुग्ने गरी राजनीति गरहेका छन् । यदि आफ्ना लागि राजनीति गर्दा हुन् त पुनः सत्ता प्राप्त गर्न सक्दथे ।  सत्ता बाहिर भए पनि निर्णायक स्थानमा हुन सक्दछन् ।

    माओवादी केन्द्र छाडेर नेकपा एमालेको सरकारलाई सघाउन आइपुगेका राम बहादुर थापा (बादल) समूहले पनि अरूलाई नै लाभ पुग्ने राजनीति गरिरहेका छन् । भइराखेको आफ्नो पार्टी छाडेर सत्ताका लागि एमालेमा सामेल हुन आएका बादल समूह अहिले बिल्लिबाठजस्तै भएको छ ।

    यसरी अरूकै लागि राजनीति गर्नलाई किन लालायित छन् नेपालका राजनीतिज्ञहरू ? वास्तवमा सातदशकदेखि नेपाली राजनीतिमा लागेका अनुभवी नेपाली राजनीतिज्ञहरू अझै परिपक्व हुन नसक्नुको परिणाम होला । यसमा के ले भूमिका खेलिरहेको छ ? नेपालको राजनीतिक क्षेत्र सवल र परिपक्व नुहुनुमा कुन दर्शनले भूमिका खेलिरहेको छ ? जसले नेपालको राजनीति एकले अर्काको खुट्टा तान्ने स्तरबाट उठ्नै दिइरहेको छैन ।

    यो गहन खोजको विषय हो कि होइन ? जबसम्म नेपालको राजनीति र राजनीतिहरू सुध्रिदैनन् र परिपक्व बन्दैनन् तबसम्म नेपाल विकासोन्मुख देशको सूचीभन्दा माथि उक्लन असम्भव छ । आशा गरौं यसप्रति नेपाली राजनीतिज्ञहरूको ध्यान जानेछ ।

    कांग्रेसका शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बनेपछि विदेशीहरूको चहलपहल निकै बढेको देखिन्छ । विशेषतः अमेरिका सक्रिय भएको देखिन्छ । भारतले पनि सक्रियता बढाएको देखिन्छ । यस्तो किन भइरहेको छ ? नेपालका नेताहरूले, दलहरूले र प्रधानमन्त्रीले नेपालकै लागि काम गर्ने हुन् तर किन विदेशीहरू सलबलाइरहेका छन् ।

    कांग्रेस र शेरबहादुर देउवामा के देखिरहेका छन् विदेशीहरूले ? चाख लाग्दो कुरा छ । कांग्रेस र शेरबहादुर देउवाले विशेष त अमेरिकी र भारतीय इन्ट्रेस्टमा काम गर्ने आमधारणा पाइन्छ । हुनसक्छ यही कारण आफ्ना कुरा सुन्ने राजीतिक पार्टी, नेता नेपालको सरकारमा आए भनेर खुसी भएर हिमचिम बाक्लो बनाउन खोजेका होलान् अमेरिका र भारतले ।

    कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाका माध्यमबाट अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको संसद्बाट पास गराउन सकिन्छ भनेर होला अमेरिका सलबलाएको । एमसीसी पास भएमा नेपालउपर अझ बढी प्रभाव पार्न सकिन्छ भन्ने बुझेर होला भारत पनि उत्तिकै सक्रिय भएको । नेपालका नदीनाला, खानीजन्य सम्पत्ति आदि सम्पदाहरू हत्याउन पाइने लोभमा र चीनलाई टक्कर दिन सजिलो हुन्छ भन्ने लागेर भारत सबलाएको हुनसक्छ ।

    यसरी अरू देशकै लागि काम गर्ने भएपछि नेपालका लागि चाहिँ के काम गर्ने त ? वर्तमान सरकारले कुनै ठोस काम गर्ने भनेर कुनै नीति तथा कार्यक्रम या रणनीति उद्घोष गरेको पनि पाइएको छैन । अझ ठूलो कुरा त प्रधानमन्त्री नियुक्त भएको २० दिन बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तारसम्म गर्न सकेका छैनन् ।

    नेपालका राजनीतिक पार्टीहरू र राजनीतिज्ञहरूले आम नेपाली जनता र देशको सर्वोपरि हितका लागि काम गर्नुपर्दछ । कोरोना महामारीले थिचिएका जनताको स्वास्थ्य सुरक्षा, गुमेको रोजगारीको पुनः स्थापनाजस्ता वर्तमान समस्यामा सरकार केन्द्रित हुनुपर्छ ।

    नागरिकको मौलिक हक अधिकार, शिक्षा, स्वास्थ्य र समृद्धिका लागि नेपालका राजनीतिज्ञले काम गर्नुपर्दछ । नेपालको राजनीतिले नेपालको सार्वभौमिकता रक्षा, देशको अखण्डता र देशका लागि दीर्घकालीन हितका लागि काम गर्नुपर्दछ ।

    नेपालमा कुनै पनि किसिमको विदेशी चलखेल, घुसपैठ या हस्तक्षेप सम्भव छैन भनेर नेपाली राजनीतिले प्रष्ट सन्देश दिनुपर्दछ । विश्वमा नेपाल सुदूर दीर्घकालसम्म उच्च राष्ट्रको रूपमा रहने गरी नेपालको राजनीति र यहाँका राजनीतिज्ञहरूले काम गर्नुपर्दछ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology