Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

'साइनो' मौलिक सिर्जना होः सीता सुवेदी पन्थी [अन्तर्वार्ता]

'साइनो' मौलिक सिर्जना होः सीता सुवेदी पन्थी [अन्तर्वार्ता]

  • 1.4K
    SHARES
  • 'साइनो' मौलिक सिर्जना होः  सीता सुवेदी पन्थी  [अन्तर्वार्ता]

    नेपाली साहित्यिक क्षेत्रमा नयाँ प्रयोग हो साइनो । झण्डै दुई वर्षअघिबाट यो विधा लेख्य रूपमा सार्वजनिक गरेका हुन् साहित्यकार छायादत्त न्यौपाने ‘बगर’ले । साइनोको लेख्य संरचना, यसको शैली, संरचना र हालसम्म यो विधाले पार गरेको दूरी र छिचोलेको आकारकाबारेमा साइनो सर्जक तथा साइनो वाङ्मय प्रतिष्ठानकी अध्यक्ष सीता सुवेदी पन्थीसँग वेबटिभी खबरले गरेको कुराकानी:

    images

    नेपाली कवितामा साइनो नयाँ प्रयोग भनिएको छ । यो कस्तो प्रकारको विधा हो ?

    साइनो मौलिक सिर्जना होः  हो । यो कुनै पूर्वयोजना वा छलफलबिना झट्ट सिर्जना गरिएको हो । यो नेपाली मनबाट सिर्जित छोटो समयमा नेपाली जनमनले रुचाएको नव्यसिर्जना हो ।

    नेपाली माटोको सुगन्ध बोकेर झाङ्गिँदै गएको साइनो अन्य कुनै विधाको परिपूरक नभई नवीन प्रयोग हो । यो कविताका अन्य कुनै पनि विधाको सट्टामा समकक्षी भएर सिर्जना भएको विधा होइन । यसको आफ्नो छुट्टै र स्वतन्त्र पहिचान छ । त्यसैले यो स्वतन्त्र विधा हो ।

    यसले छोटोमा व्यापक भाव सम्प्रेषण गर्न सक्ने हुँदा यो विशिष्ट विधा पनि हो । साइनोमा विशेष गरी व्यञ्जना शब्दशक्तिको प्रचुरता हुन्छ । यसको रचना गर्दा अभिधार्थभन्दा बढी व्यञ्जनार्थ प्रधान शब्द र तिनले दिने अर्थको संयोजनद्वारा गहनभाव सम्प्रेषण गर्ने चेष्टा रहन्छ । त्यसैले साइनोले बौद्धिक पाठकको अपेक्षा गर्दछ । यो व्यञ्जनार्थ प्रधान रचना हो ।

    साइनो लेखन कसरी सुरु भएको हो ?

    यसका प्रथम प्रयोक्ता तथा आविष्कारक नेपाली साहित्यको विविध विधामा कलम चलाउने तथा बालसाहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टा छायादत्त न्यौपाने ‘बगर’ हुनुहुन्छ । साहित्यका अन्य विधाभन्दा विल्कुलै नयाँ र फरक तरिकाले साइनोको प्रारम्भ भएको हो । यसको इतिहास धेरै लामो छैन ।

    आजको युग विज्ञान र प्रविधिको युग हो । साहित्यको कुनै पनि विधा झाङ्गिन तथा फस्टाउनका लागि प्रविधिले सहयोग त गर्छ नै । साइनो विधाको प्रारम्भ नै सामाजिक सञ्जाल वा मुहार पुस्तिकामा २०७६ साल साउन १६ गते छायादत्त न्यौपाने ‘बगर’द्वारा सम्प्रेषण गरिएको साइनोबाट भएको हो ।

    यसको विकास तथा विस्तारकालागि अन्य विभिन्न स्रष्टाहरू सामाजिक सञ्जालमा जोडिँदै जाँदा म्यासेन्जरमा ‘साइनो परिवार’, ‘साइनो चौपारी’, तथा ‘साइनो संसार’ नामक ग्रुप वा समूह निर्माण भई आफ्ना सिर्जनाहरू सम्प्रेषण गर्दै सुझावहरू आदान प्रदानहुँदै गएका छन् । साइनो र यसको सैद्धान्तिक पक्षका सन्दर्भमा छलफल तथा अन्तक्रियासमेत सामाजिक सञ्जालमार्फत्मा हुँदै स्रष्टाहरू जोडिँदै जाने क्रम बढ्दै छ ।

    अहिलेसम्म यस विधामा कतिजनाले कलम चलाउँदै हुनुहुन्छ ?

    देश विदेशमा रहेका हजारौँ स्रष्टाहरूले साइनो विधामा कलम चलाएको देखिन्छ । साइनो छोटो समयमा चर्चामा आएको विधा हो भन्ने पुष्टि गर्ने महत्वपूर्ण प्रमाणहरू प्राप्त छन् । स्थापनाको एक वर्षको हाराहारीमा कोहलपुर, बाँकेका स्रष्टा विष्णु पादुकाको साइनो कविता सङ्ग्रह (२०७६), साइनो वाङ्मय प्रतिष्ठानबाट प्रकाशित साइनो सारथि संयुक्त साइनो सङ्ग्रह (२०७७), निरञ्जना चन्दको निरुको साइनो (२०७७), हरिप्रसाद चौलागाईँको ब्रह्माण्ड (२०७७), छविलाल खड्काको बिरौटो साइनो सङ्ग्रह (२०७७ आश्विन) तथा पाल्पा जिल्लाका साइनो सर्जकहरूका साइनोको सङ्कलन पाल्पाली साइनो संयुक्त साइनो सङ्ग्रह (२०७७ मंसिर) जस्ता पुस्तकाकार कृतिको प्रकाशनले साइनो विधाको विकासमा ऐतिहासिक महत्व बोकेका छन् ।

    विभिन्न पत्रपत्रिकामा त धेरै साइनो तथा सैद्धान्तिक लेख प्रकाशित भएका छन् । साइनो विशेषाङ्कका रूपमा हिपत मासिकको एक अङ्क प्रकाशित छ । स्रष्टाहरू निरन्तर यसको श्रीवृद्धिमा लागिरहेकाकारण यसको भविष्य उज्ज्वल देख्छु म ।

    अहिले यो नयाँ विधा छ । यसलाई लोकप्रिय बनाउन साइनो वाङ्मय प्रतिष्ठानले के कस्ता काम गर्दै छ ?

    प्रारम्भकालीन अवस्थामा साइनोको प्रचार-प्रसार गर्ने उद्देश्यले फेसबुकमार्फत्मा प्रत्यक्ष प्रसारण गर्ने कार्यको थालनी २०७६ माघ १३ गतेदेखि भएको हो । प्रत्यक्ष प्रसारणका विभिन्न शृङ्खलाहरू निरन्तर रूपमा अगाडि बढेर आजसम्ममा ९३ औँ शृङ्खलासम्म पुगेको छ । २०७६ असोजदेखि साइनो चौपारी नामक मेसेन्जर समूह खोली यसमा देश–विदेशका स्रष्टालाई जोडी साइनोबारे छलफल हुँदै आएको छ ।

    यसै गरी २०७६ पौष १८ गतेदेखि साइनो संसार फेसबुक समूहखोलेको र त्यसमार्पmत विभिन्न सर्जकहरूले साइनो सम्प्रेषण गर्ने तथा रचनाबारे सुझाव आदान प्रदान हुन्छ । यसले पनि साइनोको प्रचार प्रसारमा ठुलो टेवा पुगेको छ । यसका साथै विभिन्न रेडियो, टेलीभिजन, पत्रपत्रिका, अनलाइन पत्रिका आदिमा विभिन्न सर्जकहरूका साइनोबारेका लेख तथा अन्तर्वाता प्रसारित तथा प्रकाशित भएका छन् । यसले पनि साइनोको व्यापकतामा थप वृद्धि हुने क्रम जारी छ ।

    कुनै पनि विधाको जन्म दिनु मात्र ठुलो कुरा होइन । त्यसलाई स्थापित गर्नु महत्वपूर्ण कुरा हो । साइनो वाङ्मय प्रतिष्ठानले साइनोलाई स्थापित गर्नकालागि विभिन्न कविता, गीत, लोकसाहित्य आदि क्षेत्रका विद्वान् तथा प्राज्ञ व्यक्तिसँग यसको संरचना तथा सैद्धान्तिक स्वरूपबारे अन्तरक्रिया गर्ने योजना बनाएको छ ।

    यसको अस्तित्व कायम गरी स्थापित गर्नकालागि कवि तथा समालोचकका धारणा सुन्ने, गोष्ठी, साइनो वाचनतथा लेखन प्रतियोगिता गर्नेे, अन्य विधामा कलम चलाउने स्रष्टालाई पनि आकर्षित गर्दै जाने योजना छ । नव सर्जकलाई प्रोत्साहनगर्ने तथा विभिन्न माध्यमबाट यसको प्रचार प्रसारमा तीव्रता दिने र यसको उत्थानमा लाग्ने स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्दै जाने योजना छ ।  

    यसको लेख्य संरचनाबारे बताइदिनुस् न !

    साइनो कविताको लघुतम रूप हो । सङ्क्षिप्तमा गहनभाव सम्प्रेषण गर्न सक्ने सात, आठ र नौ अक्षरका पङ्क्तिगुच्छमा संरचित भएको नेपाली मौलिक सिर्जना साइनो हो । यो सात, आठ र नौ अक्षर सङ्ख्याका तीन पङ्क्तिमा पूर्णता प्राप्त गर्ने कविताको उपविधाहो । यो तीन पङ्क्तिगुच्छमा रचिन्छ । तीमध्ये पहिलो पङ्क्तिमा सातअक्षर, दोस्रो पङ्क्तिमा आठ अक्षर र तेस्रो पङ्क्तिमा नौ अक्षरको संरचना गरी यसमा जम्मा चौबिस अक्षर हुन्छन् । अक्षरहरूको गणना उच्चारणको आधारमा नभई लेख्य अवस्थाको आधारमा गरिन्छ ।

    यसको संरचनागर्दा अर्थत महत्वका दृष्टिले एउटा पङ्क्ति अर्को पङ्क्तिमाथि आश्रित नभई स्वतन्त्र अर्थ प्रदायक हुन्छ । यसमा प्रयुक्त तीन पङ्क्तिहरूले छुट्टाछुट्टै स्वतन्त्र अर्थ प्रदान गर्दछन् र तीनवटै पङ्क्तिले दिने समुच्च अर्थ भने विशिष्ट किसिमको हुन्छ । त्यसैले साइनोको संरचना विशिष्ट खालको हुन्छ । अति सङ्क्षिप्त स्वरूपको भएर पनियसले गहन, तार्किक तथा गौरवपूर्ण भावको सम्प्रेषण गर्दछ । विशेष गरी यो व्यञ्जनार्थ प्रधान रचना हो । साहित्यका अनुरागीहरूका लागि थोरै समय खर्चेर साहित्यको आनन्द प्रदान गर्ने रोचक अभिव्यक्ति हो-साइनो । 

    साइनो सिर्जना गर्न चाहने स्रष्टाहरूलाई प्रतिष्ठानका अध्यक्षका नाताले के भन्न चाहनुहुन्छ ?

    साहित्यमा कलमचलाउनु आफैमा महत्त्वपूर्ण कुरा हो । साइनो नेपाली कविताको क्षेत्रमा नयाँ विधा पनि हो । यसको आफ्नै विशिष्ट संरचना छ । यसको लेखनमा अक्षरको गणनामात्र नभई भावार्थको महत्वमा पनि विशेष ध्यानदिनु पर्ने हुन्छ ।

    साइनोको सैद्धान्तिक संरचनाबारे विभिन्न रेडियो, टेलीभिजन, पत्रपत्रिका, अनलाइन पत्रिका आदिमा विभिन्न सर्जकहरूका लेख तथा अन्तर्वार्ता प्रसारित तथा प्रकाशित भएका छन् । यी सामग्रीको अध्ययन गरी स्पष्ट अवधारणा विकास गर्न सकेमा साइनोको मर्मअनुसार रचना गर्न सकिन्छ । साइनोप्रति विभिन्न स्रष्टाहरूको आकर्षण बढिरहेको परिप्रेक्ष्यमा नयाँ सर्जकहरूलाई म साइनोको संरचना र सैद्धान्तिक मर्मलाई ध्यानमा राखेर रचना गर्न अनुरोध गर्छु । 

    साइनो नेपाली माटोमा जन्मेको मौलिक सिर्जना हुनाले यसलाई नेपाली साहित्यको महत्वपूर्ण सम्पदाको रूपमा सबै मिलेर स्थापित गर्नका लागि साइनो वाङ्मय प्रतिष्ठानको अध्यक्षका नाताल आह्वान पनि गर्दछु ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology