काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ ।
सत्ता सहकार्यबारे छलफल गर्नका लागि नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन् ।
दाहाल यतिबेला एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा छन् । तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ । केहीले पार्टी एकतामा जोड दिँदै सरकारमा जान नहुने बताइरहेका छन् भने कतिपयले आफैले निर्माण गरेको सरकारमा सहभागी भएर हिस्सा लिनुपर्ने बताइरहेका छन्।
हिजो शनिबार एक कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाललाई अपराधीको संज्ञा दिँदै उनी जस्तालाई एमालेमा स्थान नरहेको अभिव्यक्ति शनिबार पनि दोहोर्याएका थिए ।
शनिबारकै अर्को एक कार्यक्रममा वरिष्ठ नेता नेपालले देउवा सरकार सफल हुनुपर्ने धारणा व्यक्त गर्दै फेरि पनि फर्केर प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर जालझेल नगर्न ओलीलाई चेतावनी दिएका थिए। सरकारमा सहभागिताबारे माधव समूहले निर्णय लिन नसक्दा मन्त्रिपरिषद् बिस्तार हुन सकेको छैन।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij