काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बालुवाटार स्रोतका अनुसार सत्तारुढ दलहरुले मन्त्रीको सूची बुझाए आजै मन्त्रीपरिषद् विस्तार गर्ने तयारी भइरहेको छ।
यद्यपी सत्तारुढ दलहरुबीच मन्त्रालयको बाँडफाँडमा अन्तिम सहमति भने जुट्न सकेको छैन। सम्भवतः मन्त्रालयको बाँडफाँडको अन्तिम टुंगो लगाउने र मन्त्रीपरिषद् विस्तारको काम आजै हुने स्रोतको दावी छ।
‘लामो समय देखि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा राम्रो सन्देश गएको छैन। त्यसैले चाँडो भन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘उहाँको जोड आजै गरौं भन्नेछ। मन्त्रालय बाँडफाँडको काम र मन्त्रिपरिषद् विस्तार आजै सक्ने योजना भएपनि शक्ति बाँडफाँड र मन्त्रीको सूची आउँछ, आउँदैन। त्यसमै निर्भर रहन्छ।’
खासगरी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समुह सरकारमा सहभागि हुने वा नहुने भन्ने विषयमा अनिर्णित हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको हो। यद्यपी बालुवाटार स्रोत भने नेपाल समुह सरकारमा सहभागि हुने सम्भाना न्यून देखिएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने बताउँछ ।
‘उहाँहरु सरकारमा सहभागि हुने सम्भावना कम देखिन्छ। सरकारमा सहभागि नभएपनि राजनीतिक र संवैधानिक नियुक्तीमा उहाँहरुलाई समेट्न सकिन्छ। छलफल त्यसरी अघि बढेको छ। अब धेरै अलमल गर्न हुँदैन,’ स्रोतले भन्यो।
गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । देउवा नेतृत्वको सरकारमा कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् ।
यस्तै माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र जसपाले हालसम्म मन्त्रीको टुंगो लगाउन सकेका छैनन्। मन्त्री छान्ने आन्तरिक कसरत दलहरुमा भइरहेको छ। माओवादी केन्द्रको दिउँसो ३ बजे बस्ने स्थायी कमिटीको बैठकले मन्त्रीको टुंगो लगाउने बुझिएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij