बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीलाई मुख्य मन्त्री शंकर पोखरेलले अपरहण गरेर विज्ञप्ती जारी गर्न लगाएको आरोप माओवादी केन्द्रले लगाएको छ।
पूर्वमन्त्री एवम् लुम्बिनी प्रदेश सभाका माओवादी केन्द्रका सांसद सुदर्शन बरालले सत्ताको चरम दुरुपयोग गरी विमलालाई मुख्यमन्त्री पोखरलेको निवासमा ‘बन्धक’ बनाएको आरोप लगाएका हुन्। उनले खाली कागजमा हस्ताक्षर गराई अरुले जबरजस्ती विज्ञप्ति निकालेको आरोप लगाएका हुन्।
एकजना जनप्रतिनिधिलाई बन्धक बनाएर पार्टी र मिडियासँग सम्पर्कविहीन बनाउनु गम्भीर विषय भएको भन्दै यस सम्बन्धमा उच्चस्तरीय छानबिन हुनुपर्ने उनको माग छ ।
विमलाले एमाले रोजेको कुरा माओवादी केन्द्रलाई विश्वास नभएको उनले बताए । यदि साँचीकै एमाले रोजेको हो भने यसअघि जस्तै पत्रकार सम्मेलन गरेर विमलाले सार्वजनिकरुपमा भन्नसक्नुपर्ने बरालले बताए ।
विमलाले पुष्टि हुने गरी एमाले रोजेको अवस्थामा पार्टीले विधि प्रकृया पूरा गरेर तत्काल सांसद पदबाट मुक्त गर्ने बरालले स्पष्ट पारे ।
तत्कालीन नेकपाबाट विजयी वलीले फागुन २३ को सर्वोच्चको फैसलापछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij