वेबटिभी खबर
काठमाडौं । पूर्वगृहमन्त्री खगराज अधिकारीले दार्चुला घटनामा सरकार गम्भीर नभएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले जयसिंह धामी बेपत्ता भएको घटनामा भारतीय एसएसबीको संलग्नताबारे गृहमन्त्री बालकृष्ण खाँण मौन बसेपछि उक्त घटनामा सरकारको गाम्भीर्यतामाथि प्रश्न उठाएका हुन् ।
अधिकारीसहित एमाले सांसदहरुले गृहमन्त्री खाणले यस घटनाबारे संसदमा दिएको जानकारी गैर-जिम्मेवारपूर्ण रहेको आरोपसमेत लगाएका छन् । ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ,’ अधिकारीले भने, ‘यस्तो गम्भीर घटनामा पनि सरकार हलुका रुपमा प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारबाही हुन सक्दैन ।’
एमालेकी अर्की सांसद शान्ता चौधरीले पनि यो घटनाप्रति सरकार हल्का र गैरजिम्मेवार रूपमा प्रस्तुत भएको आरोप लगाइन् ।
‘प्रत्यक्षदर्शीले नै एसएसबीले तुइन काटेको भनिसकेका छन् । गृहमन्त्री अझै हामी जानकारी लिइरहेका छौं भन्नुहुन्छ । यस्तो हल्का पाराले प्रस्तुत हुन उहाँलाई नैतिकताल दिँदैन । एसएसबीको ज्यादतीमा हामी मौन बस्न सक्दैनौं,’ उनले भनिन् ।
अर्का एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको दाबी गरे ।यस विषयमा सरकारले भारत सरकारसमक्ष औपचारिक रुपमा विरोध गर्नुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij