वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले दार्चुला घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै नेपालस्थीत भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ ।
दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोध गर्दै मंगलबार संगठनले विरोध गरेको हो ।
उक्त घटनाको विरोधमा ज्ञापनपत्र बुझाउन गए पनि दुतावासले ज्ञापनपत्र बुझ्न नमानेपछि विरोध प्रदर्शन गरिएको संगठनले जनाएको छ ।
उनीहरुले भारतीय हस्तक्षेप अन्त्य हुनुपर्ने भन्दै नाराबाजी गरेका छन् । संगठनका अध्यक्ष प्रकाश रिमालले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीबाट पटक-पटक नेपालको सीमा अतिक्रमण गर्ने, नाकामा अवरोध सिर्जना गर्ने लगायत काम भएको र यसले अन्तर्राष्ट्रिय कानुनको ठाडो उलंघन भएको बताए ।
उनीहरुले उक्त घटनाको छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न भारत सरकारले गम्भीरता देखाउनुपर्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij