वेबटिभी खबर
लुम्बिनी । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको विशेष अधिवेशन संवैधानिक प्रकृयाबाटै गरिएको बताएका छन् । सत्तापक्ष नेकपा एमालेले प्रदेश प्रमुखले आव्हान गरेको प्रदेशसभाको विशेष अधिवेशन संविधान विपरित रहेको दावी गरिरहँदा प्रदेश प्रमुख शेरचनले भने संवैधानिक रुपमै अधिवेशन बोलाइएको बताएका हुन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनीको तेस्रो स्थापना दिवस तथा स्मारिका विमोचन र सम्मान कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले प्रतिपक्ष सांसदहरुले अधिवेशनका लागि आग्रह गरेअनुसार आफूले अधिवेशन आव्हान गरेको बताए । ‘सांसदहरुको आग्रहपछि अधिवेशन बोलाउनुभन्दा अर्को विकल्प थिएन’ उनले भने । आगामी साउन २७ गते प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरिएको छ ।
उनले लुम्बिनी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षका बीचमा बहुमत र अल्पमतको नाममा देखिएका समस्याको समाधान संवैधानिक प्रकृयाबाट नै समाधान हुने बताए । प्रदेश प्रमुख शेरचनले प्रदेश सरकारलाई बहुमत सावित गर्न पनि आग्रह गरे । ‘अहिले उठेको बहुमत र अल्पमतको विषयलाई संवैधानिक प्रकृयाबाट समाधान गर्ने हो, यसमा कसैले अप्ठ्यारो मान्नु पर्दैन बहुमत सावित गर्न सके जसले पनि सरकार चलाउन सक्छ’ उनले भने ।
उनले प्रदेश प्रमुखमा नियुक्त भएसँगै आफू कुनैपनि दलको सदस्य नभएकोले कुनैपनि दलको नजिक रहेर काम नगर्ने बताए । ‘प्रदेश प्रमुख भएर आएसँगै म कुनैपनि दलको सदस्य छैन, मेरो तर्फबाट गरिने कुनैपनि काम संवैधानिक रुपबाट कानुनले दिएको अधिकार प्रयोग गरेर मात्र हुने छन्’ उनले भने ।
प्रदेश प्रमुख शेरचनले आफूलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा नहेर्न पनि आग्रह गरे । लुम्बिनी प्रदेश प्रमुख भएर बुटवल आएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका प्रदेश प्रमुख शेरचनले निषेधबाट प्रदेशमा देखिएको समस्याको समाधान नहुने भएकोले सहमतीय प्रणालीको आधारमा अगाडि बढाउन पनि सुझाव दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij