Logo

२०८३, कार्तिक १८ गते मंगलवार

२०८३, कार्तिक १८ गते मंगलवार

नेपालको छायांकन अनुमति प्रक्रियामा खोट, जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला

नेपालको छायांकन अनुमति प्रक्रियामा खोट, जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला

  • 102
    SHARES
  • नेपालको छायांकन अनुमति प्रक्रियामा खोट, जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला

    मुस्ताङ । मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा हालै एक जापानी म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । उक्त म्युजिक भिडियोमा दुई जना नेपाली बाल कलाकारले समेत अभिनय गरेका छन् । विदेशी कलाकार र प्राविधिक टोली छायांकन सकेर आफ्नो देश फर्किसकेका छन् । तर, यस छायांकनसँगै नेपालको चलचित्र क्षेत्रको नियमन र अनुमतिको प्रक्रियामा रहेको गम्भीर त्रुटि पुनःएकपटक सतहमा आएको छ ।

    के हो समस्या ?

    सञ्चार तथा सुचना प्रविधि मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य साखामा छायांकन अनुमतिका लागि आवेदन दिँदा हाल दुईवटा मात्रै फर्म उपलब्ध छन् एउटा चलचित्र का लागि र अर्को डकुमेन्ट्री का लागि । मन्त्रालयसँग म्युजिक भिडियो, वेब सिरिज, विज्ञापन वा अन्य व्यावसायिक छायांकनका लागि छुट्टै विधा वा फारम नै छैन । यही पुरानो र अव्यावहारिक प्रक्रियाका कारण पछिल्लो समय मुस्ताङमा छायांकन गरिएको जापानी म्युजिक भिडियोले पनि डकुमेन्ट्री फिल्म परमिड लिएर काम गर्नुपरेको छ । जापानका चर्चित म्युजिक भिडियो निर्देशक टाकु हिराकोचीलाई नेपालको अनुमति प्रक्रियाले बाध्यकारी रूपमा डकुमेन्ट्री निर्देशक को परिचय दिएको छ ।

    विधेयकमा पनि छैन स्पष्टता

    हाल छलफलमा रहेको चलचित्रसम्बन्धी नयाँ विधेयकमा समेत यी विधागत वर्गीकरणलाई सम्बोधन गरिएको छैन । चलचित्र वा डकुमेन्ट्रीबाहेकका अन्य विधा (जस्तैः म्युजिक भिडियो, विज्ञापन आदि) लाई कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट नीति नहुँदा विदेशी सर्जकहरू समेत नेपालको यस्तो झन्झटिलो र गलत वर्गीकरणको प्रक्रियामा पर्न बाध्य छन् । यसले गर्दा नेपालमा छायांकन गर्न आउने अन्तर्राष्ट्रिय कलाकारहरूले आफ्नो मौलिक विधाको पहिचान गुमाएर डकुमेन्ट्री निर्देशक बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    म्युजिक भिडियोलाई डकुमेन्ट्री भनेर परमिट दिनु मन्त्रालयको विधागत ज्ञानको अभाव र प्रणालीको कमजोरी हो । नेपाललाई फिल्म छायांकनको उत्कृष्ट गन्तव्य बनाउने दाबी गरिए पनि आधारभूत प्रक्रिया नै अव्यावहारिक हुँदा विदेशी सर्जकहरूमा गलत सन्देश जाने र नेपालको प्रशासनिक प्रक्रियाको खिल्ली उडिने जोखिम बढेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij