वेबटिभी खबर
काठमाडौं । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र र विप्लवनिकट अखिल क्रान्तिकारी तथा अखिल छैटौँका विद्यार्थी संगठनहरूले तोडफोड गरेका छन् ।
लामो समयदेखि विभिन्न माग राखेर आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले लुम्बिनी क्याम्पसमा आज तोडफोड गरेका हुन् ।
क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेबल, लेखा शाखा र परीक्षा शाखामा रहेका कम्प्युटर र कुर्सी तोडफोड गर्दै विद्यार्थीहरू भागेका थिए ।
क्याम्पस सञ्चालक समितिले सेमेस्टर प्रणाली हटाउन नसकिने र विश्वविद्यालयमा जाने तयारी रोक्न नसकिने बताएपछि विद्यार्थी तोडफोड गरेको क्याम्पस प्रशासनले जनाएको छ ।
आन्दोलनरत विद्यार्थी संगठनहरूले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन शाखा लगायतमा तालाबन्दी गरेका थिए । भने साउनको ८ गते नै लुम्बिनी वाणिज्य क्याम्पसमा सक्रिय अनेरास्ववियूबाहेक चार विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कार्यक्रम र हटाई पूर्ण रूपमा स्वायत्तताका कार्यक्रम सञ्चालन गरी क्याम्पसलाई मानित विश्वविद्यालयको नाममा शैक्षिक प्रमाणपत्र व्यापार गर्ने थलो बनाउन लागेको विद्यार्थी संगठनहरूको आरोप छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij