वेबटिभी खबर
काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका होटल, क्याफे तथा रेस्टुरेन्टहरुमा बिक्री वितरण हुने खाद्य वस्तुहरुको गुणस्तरको नाप, जाँच र अनुगमनलाई तीव्र पारेको छ । सोही क्रममा प्रशासनको अनुगमन टोलीले स्थलगत अनुगमनका क्रममा धुनिबेँशी ६ नौबिसेमा रहेको न्यू पल्पसा क्याफे साइडलाई कारबाही गरेको छ ।
धादिङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको अगुवाईमा नियमित बजार अनुगमन टोलीले न्यू पल्पसा क्याफेलाई कारबाही गरेको हो । क्याफे सञ्चालकले तरकारीलगायत परिकारमा सडेको आलु प्रयोग गरेको, वस्तुको मूल्यसूची नराखेको, बिक्री बिल नभएको, होटलको सरसफाईमा ध्यान नदिएको, कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरु पालना नगरेको पाइएपछि उक्त क्याफेलाई कारबाही गरिएको उपाध्यायले जानकारी दिए ।
पृथ्वी राजमार्ग आसपासका होटल, क्याफे तथा रेस्टुरेन्टहरुले जनस्वास्थ्यप्रति गम्भीर लापरबाही हुने गरी व्यावसाय सञ्चालन गरेको गुनासो सर्वसाधारणबाट आएपछि नियमित बजार अनुगमन गर्दै आएको टोलीले सो क्याफेलाई कानुनअनुसार कारबाही गरेको हो । अनुगमन टोलीका संयोजकसमेतर रहेका सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायसहितको टोलीले गरेको अनुगमनका क्रममा सोही क्षेत्रका ९० भन्दा बढी होटल, क्याफे तथा रेस्टुरेन्टहरुलाई कारबाहीमा परेका छन् ।
कारबाहीमा परेकामध्ये सबै व्यावसायीलाई जनस्वनस्थ्यमा गम्भीर बन्दै व्यावसाय सञ्चालन गर्न निर्देशन दिँदै अटेर गर्नेलाई थप कानुनी कडाइ गरिने चेतावनी दिएको छ । ‘न्यु पल्पसा क्याफेलाई सेवामा सुधार गर्न निर्देशन दिँदै १० हजार नगद जरिवाना गरेका छौं,’ उपाध्यायले भने, ‘सो क्याफेलाई व्यावसायको सेवा सुधारका लागि सात दिनको समय दिइएको छ ।’
सर्वसाधरण उपभोक्ताबाट आएको गुनासोका आधारमा र आफैं ग्राहक बनेर सो क्षेत्रका होटल, क्याफे, रेस्टुरेन्ट, किराना र खाद्यान्नका पसलहरुमा नियमित तथा छड्के जाँचलाई तीव्रता दिएको उपाध्यायले बताए । ‘उचित मुल्यमा खाना नखुवाउने, रसायनिक, अखाद्य तथा म्याद गुज्रिएका वस्तु वस्तु बिक्री गर्ने सबै होटल, क्याफे, रेस्टुरेन्ट र खाद्यान्नका पसलमा हामीले अनुगमन बढाएका छौं,’ उनले भने, ‘राजमार्ग आसपासका साथै जिल्लाका सबै क्षेत्रका पसलहरुमा यो क्रमलाई तीव्रता दिइएको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij