वेबटिभी खबर
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले मुलुकमा सुशासन, विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारसँगै निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकको सामूहिक इमानदार प्रयास आवश्यक रहेको बताएका छन् । दावाँली मिलन क्लब, काठमाडौंले आयोजना गरेको सम्मान तथा बधाई–शुभकामना कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले कुनै एक व्यक्ति, पद वा संस्थाको मात्र प्रयासले अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे ।
उनले जिम्मेवारीमा रहेका व्यक्ति इमानदार, कर्तव्यनिष्ठ, दूरदर्शी र नेतृत्वदायी हुनुपर्ने भए पनि समग्र समाज नै परिवर्तन र सुशासनप्रति प्रतिबद्ध हुनुपर्ने बताए । ‘कुनै एउटा मन्त्री, प्रधानमन्त्री, सचिव वा आयोजना प्रमुख असल, इमानदार र कर्तव्यनिष्ठ भएर मात्रै पुग्दैन । समग्र समाज नै विकास र सुशासनप्रति प्रतिबद्ध हुनुपर्छ,’ उनले भने । मुख्यसचिव कार्कीले आफ्नो सरकारी सेवाको अनुभव सुनाउँदै आफूले विभिन्न राजनीतिक परिवर्तनको प्रत्यक्ष अनुभव गर्न पाएको बताए । उनले २०४६ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गरेको केही समयपछि पञ्चायत व्यवस्था अन्त्य भई बहुदलीय व्यवस्था स्थापना भएको स्मरण गरे । उनले सेवाको प्रारम्भिक चरणमा गाउँ पञ्चायत तथा पछि गाउँ विकास समितिको सचिवका रूपमा काम गर्दा लामो समय जनप्रतिनिधिविहीन अवस्थामा जिम्मेवारी निर्वाह गर्नुपरेको स्मरण गरे ।
त्यसैगरी उपसचिव भएपछि विभिन्न जिल्लामा स्थानीय विकास अधिकारीका रूपमा पनि जनप्रतिनिधिविहीन अवस्थामा जिम्मेवारी सम्हाल्नुपरेको उनले बताए । उनले भने, ‘ हामीले धेरै राजनीतिक व्यवस्थाहरू, विगतका आन्दोलनहरू, राजनीतिक परिवर्तनहरूको अनुभूत गर्न पाइयो । हाम्रो पुस्तालाई लक्की भन्नौं कि अनलक्की भनौँ, अन्योलमा छु । म ०४६ सालमा खरदारमा प्रवेश गरेको दुई–तीन महिनापछि पञ्चायत व्यवस्थाबाट बहुदलीय व्यवस्थामा परिवर्तन भयो । मैले गाउँ विकास समितिको गाउँ पञ्चायतको सचिवबाट गाउँ विकास समितिमा छ–सात वर्ष जनप्रतिनिधिविहीन अवस्थामा जागिर खानुपर्ने परिस्थिति बन्यो । पछि ०६२ सालमा उपसचिव भएँ । जनप्रतिनिधि छैन, स्थानीय विकास अधिकारी (एलडीओ) भएर सभापतिको भूमिका त्यसैगरी पाँच वर्ष जति विभिन्न जिल्लामा निभाउनुपर्यो ।’
कार्कीले गणतन्त्र स्थापना, त्यसपछिका राजनीतिक परिवर्तन तथा पछिल्लो समयको जेन–जी आन्दोलनलाई समेत आफूले नजिकबाट अनुभव गरेको उल्लेख गरे । जेन–जी आन्दोलनका क्रममा आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत रहेको भन्दै उनले त्यसबेलाको जटिल परिस्थितिलाई नजिकबाट नियाल्ने अवसर पाएको बताए । वर्तमान सरकारले आफूलाई मुख्यसचिवको जिम्मेवारी दिएकोमा उनले सरकारप्रति आभार व्यक्त गरे । मुख्यसचिव कार्कीले उच्च पदमा पुग्नु व्यक्तिगत रूपमा खुसी र गौरवको विषय भए पनि त्यससँगै ठूलो जिम्मेवारी र चुनौतीसमेत आउने बताए । पद प्राप्तिलाई मात्र उपलब्धिको रूपमा नहेरी त्यसबाट समाज र राष्ट्रका लागि योगदान गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।
‘हामी कुनै जिम्मेवारीमा पुग्छौँ, खुसी हुन्छौँ, तलब बढ्छ, आफन्त र साथीभाइले पनि खुसी मनाउँछन् । तर समग्र नेपाली समाजले खोजेको परिवर्तन ल्याउनु अत्यन्त जटिल काम हो,’ उनले भने, ‘त्यो परिवर्तनका लागि सबैले आफ्नो ठाउँबाट योगदान गर्ने प्रण गर्नुपर्छ ।’ कार्यक्रममा आफूजस्तै भोजपुरबाट विभिन्न क्षेत्रमा उच्च जिम्मेवारीमा पुगेका व्यक्तिहरूसँग सामूहिक रूपमा सम्मानित हुन पाउँदा विशेष खुसी लागेको कार्कीले बताए । उनले सम्मानित अन्य व्यक्तिहरूलाई बधाई दिँदै उनीहरूको व्यावसायिक तथा सामाजिक जीवनको सफलताको शुभकामना पनि व्यक्त गरे । दावाँली मिलन क्लबले सामाजिक संस्था तथा गैरसरकारी संस्थाका रूपमा विभिन्न आपत विपद्, महामारीलगायतका अवस्थामा सामाजिक गतिविधि गर्दै आएको उल्लेख गर्दै कार्कीले क्लबका आगामी गतिविधि अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij