वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको केन्द्रीय पार्टी स्कूल विभागले ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवन विभागलाई हस्तान्तरण गर्न भनेको छ । पार्टी अध्यक्ष तथा विभागका प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बाल्कोटमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘तुल्सीलाल प्रतिष्ठानमा रहेको केन्द्रीय पार्टी स्कुल हाल नेकपा (एमाले) बागमती प्रदेश कमिटीले कार्यालयका रूपमा उपयोग गर्दै आएको हुँदा सो स्थान यथाशक्य चाँडो पार्टी स्कूललाई उपलब्ध गराइदिन भनेका छौं,’ बैठकको निर्णय सुनाउँदै एक नेताले जानकारी दिए ।
हाल एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू सोही भवनमा हुने गरेका छन् । बैठकले विभागका सचिव ईश्वरी रिजालद्वारा प्रस्तुत प्रशिक्षण पाठ्यक्रमलाई विभागका सदस्यहरूले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्न समय दिने निर्णय गरेको छ।
सो सुझावका आधारमा रामबहादुर थापा (बादल), शंकर पोखरेल, प्रदीप ज्ञवाली र ईश्वरी रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गरी प्रमुखसमक्ष प्रस्तुत गर्ने र पाठ्य सामग्री तयार गरी नियमित स्कूल सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij