Logo

२०८३, आश्विन २४ गते शनिवार

२०८३, आश्विन २४ गते शनिवार

श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ : मन्त्री तिमिल्सिना

श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ : मन्त्री तिमिल्सिना

  • 86
    SHARES
  • श्रम र जनशक्ति मात्र होइन अब सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ : मन्त्री तिमिल्सिना

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.विक्रम तिमिल्सिनाले देशको पुँजीका रूपमा रहेको युवा शक्तिलाई उद्यमशीलता र नवप्रवर्तनमा जोड्न सरकारले अनुकूल वातावरण निर्माण गरिरहेको बताएका छन्। शुक्रबार नेपाल बिजनेस इन्स्टिच्युट र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) द्वारा आयोजित पाँचौँ संस्करणको ‘नेपाल युवा उद्यमशीलता सम्मेलन २०२६’ लाई सम्बोधन गर्दै उनले युवाको ज्ञान, सीप, सिर्जनशीलता र प्रविधिको उपयोगबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

    ‘कुनैपनि देशको सबैभन्दा ठूलो शक्ति र पुँजी भनेको युवा जनशक्ति हो । अनुसन्धान र नवप्रवर्तनमा लगानी नगरी युवालाई स्वदेशमै आफ्ना सपना पूरा गर्न र आर्थिक समुन्नति हासिल गर्न सकिँदैन। त्यसका लागि सरकारले आवश्यक वातावरण बनाउने र निजी क्षेत्रले त्यसमा साथ दिने हो,’ उनले भने । मन्त्री तिमिल्सिनाले सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्व बजारमा सेवा प्रदान गर्न सकिने भन्दै युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा मात्र निर्भर नराखी स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

    उनले भने,‘अब हामीले श्रम र जनशक्ति होइन, सेवा बेच्ने दिशामा अघि बढ्नुपर्छ । सूचना प्रविधिको माध्यमबाट नेपालमै बसेर विश्वभर सेवा दिन सकिन्छ । यसले युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउन सक्छ ।’ नेपालमा सूचना प्रविधिका क्षेत्रमा नयाँ जनशक्ति र विज्ञहरू विकास हुँदै गएको उल्लेख गर्दै उनले यसको उपयोग आर्थिक रूपान्तरणका लागि गर्नुपर्ने बताए । त्यसका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र अन्य सरोकारवाला निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनको भनाइ थियो । सूचना प्रविधिको सम्भावना उपयोग गर्न डिजिटल विभाजन अन्त्य गर्ने, इन्टरनेटको पहुँच विस्तार गर्ने र सेवाको गुणस्तर सुधार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको उनले बताए ।

    दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने लक्ष्यसहित सरकारले यसै वर्ष फाइभ–जी सेवा सुरु गर्नेगरी काम गरिरहेको पनि उनले जानकारी दिए । प्रविधिले काम गर्ने तरिका परिवर्तन गर्न सक्ने भएपनि यसले मानिसको महत्त्व घटाउने नभई क्षमता अभिवृद्धि गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने मन्त्री तिमिल्सिनाको धारणा थियो । सरकारले नीति निर्माणमा मात्र सीमित नभई त्यसको प्रभावकारी कार्यान्वयनमार्फत नागरिक र उद्यमीले प्रत्यक्ष लाभ प्राप्त गर्ने वातावरण बनाउने उनले बताए । बदलिँदो श्रम बजारअनुसार युवालाई भविष्यमा आवश्यक पर्ने सीप र क्षमतामा आधारित शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको जनाए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij