वेबटिभी खबर
काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका-१ सौरीस्थित पूर्व-पश्चिम राजमार्गमा दुईवटा कार एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका-५ घर भई हाल काठमाडौं बस्दै आएका ७३ वर्षीय टेकबहादुर शाही रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारका क्रममा १०ः८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
प्रहरीका अनुसार आज बिहान करिब ९ बजे कोहलपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१-०३० च ८४९६ नम्बरको कार एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा बा.प्र.०१-०३२ च ३६१८ नम्बरको कारमा सवार ४० वर्षीया कुसुम शाही, १६ वर्षीय शुभम शाही र कार चालक डोटीको साविक मुदेगाउँ गाविस-७ घर भएका ४५ वर्षीय नरेन्द्रबहादुर शाही घाइते भएका छन् । घाइते चालक नरेन्द्रबहादुरको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ भने कुसुम र शुभमको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, अर्को कार बा.प्र.०१-०३० च ८४९६ मा सवार दाङको घोराही उपमहानगरपालिका-७ निवासी ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । सोही कारका चालक घोराही-७ सौरियार बस्ने करिब ४० वर्षीय सम्राट नाथ योगीलाई भने चोटपटक लागेको छैन । उनलाई इलाका प्रहरी कार्यालय कुसुम, बाँकेले नियन्त्रणमा लिएको छ । दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग १०ः१५ बजे देखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij