वेबटिभी खबर
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो नेतृत्वको सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट ल्याउने घोषणा गरेका छन् । निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा आवश्यक संशोधन र परिमार्जन गर्दै नीति तथा कार्यक्रम र बजेट ल्याउने उनले बताएका छन् ।
‘नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वभाविक हुन्छ । यसलाई अन्यथा लिइनु हुँदैन,’ मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने । विपक्षी नेकपा एमालेको सरकारले संविधानको सर्वोच्चतालाई अपहेलना गरेर अध्यादेशबाट बजेट ल्याएकाले त्यसलाई स्वीकार्न नसकिने मुख्यमन्त्री केसीको भनाइ छ ।
संघीय सरकारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही दिशामा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीको प्रतिबता छ ।
‘छिटै नियमित अधिवेशन बोलाउँछौं, त्यसमा नियमित विधेयकहरु ल्याउँछौं र सँगै विश्वासको मत पनि लिन्छौं,’ उनले भने । माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । बिहीबार नै सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij