वेबटिभी खबर
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि कात्तिक २३ गते सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको थियो । त्यसपछि भने एकैदिन सुनको मूल्यमा ठूलो गिरावट आएको हो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला १ सय ५५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुनचाँदीको मूल्य घटेको थियो । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बर डेलिभरीका लागि सुनको वायदा मूल्य २.८८ प्रतिशत घटेर प्रतिऔंस ३ हजार ८ सय ८५.३० अमेरिकी डलरमा झरेको थियो । त्यस्तै, चाँदीको वायदा मूल्य ३.७२ प्रतिशत घटेर प्रतिऔंस ५०.०६५ अमेरिकी डलरमा कारोबार बन्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटले नेपाली बजारको मूल्यमा पनि प्रभाव पारेको देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij