Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

  • 44
    SHARES
  • भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव परीक्षण गर्न सहमत

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको शव परीक्षण गर्न आफन्त सहमत भएका छन् । मधेश प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो ।

    छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखिएको छ । उक्त माग सात दिनभित्र सम्बोधन गर्नुपर्ने उनीहरूको अडान छ । मृतक पक्षले राखेका माग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याई सम्बोधनका लागि आवश्यक पहल गर्ने आश्वासन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले दिएपछि शव परीक्षण गर्न सहमति जुटेको बताइएको छ ।

    सहमति जुटेसँगै १३ जनाको शव परीक्षण प्रक्रिया अघि बढाइने भएको छ । परीक्षण सम्पन्न भएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि सर्लाही लैजाने तयारी गरेका छन् । दुर्घटनामा १४ जनाले ज्यान गुमाएको घटनापछि पीडित परिवारले क्षतिपूर्ति, रोजगारी तथा घाइते बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij