Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

झापामा मानव हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै

झापामा मानव हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै

  • 17
    SHARES
  • झापामा मानव हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै

    काठमाडौं । झापामा जंगली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ । भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जंगली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेको हो ।

    जिल्लाको बुद्धशान्ति गाउँपालिका-२ बिहानी टोलमा आज बिहान जंगली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन् । तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन् । बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट पौडेलको छातीमा चोट लागेको छ । उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ ।

    यसैबीच, मेचीनगर नगरपालिका-७ को सतिघट्टा नाकाआसपासको क्षेत्रबाट जंगली हात्ती नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । केही दिनयता बाहुनडाँगी, प्रसाद गौडा, काँकरभिट्टा र सीमावर्ती क्षेत्रमा १२ वटाभन्दा बढीको सङ्ख्यामा हात्ती देखिएको स्थानीयले बताएका छन् । हात्तीको ठूलो समूह बस्ती आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको मेचीनगर नगरपालिका-७ का वडाध्यक्ष पहलाद ओलीले बताए । हात्तीको समूहले स्थानीय बस्तीमा प्रवेश गरी घरगोठ तथा बालीनालीमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेको उहाँको भनाइ छ ।

    हात्तीको आवागमन बढेपछि स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न समेत समस्या भइरहेको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले जंगली हात्तीलाई भारततर्फ नै फर्काउन भारतीय प्रहरीसमेत परिचालित भएको जानकारी दिए ।नेपाल र भारतका सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय गरेर हात्तीलाई बस्तीमा पस्न नदिन प्रयास भइरहेको उनले बताए । डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लामा मानव–हात्ती द्वन्द्वको समस्या लामो समयदेखि रहँदै आएको छ । २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जंगली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन् ।

    मृत्यु हुनेमा ७० नेपाली र १० गैरनेपाली नागरिक रहेका छन् । सोही अवधिमा मानव हात्ती द्वन्द्वका कारण २८ वटा जंगली हात्तीको समेत मृत्यु भएको कार्यालयले बताएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए । हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा झापाका विभिन्न स्थानीय तहका नागरिक रहेका छन् । मेचीनगर-९ की पेना किसान, दमक-३ का गणेशप्रसाद अधिकारी, मेचीनगर-१३ का खम्बासिंह कार्की, भद्रपुर-९ का रामबहादुर बुर्जा र कनकाईका कृष्णबहादुर भुजेलले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । त्यस्तै, पछिल्ला घटनामा मेचीनगर-४ की पद्मा पौडेल र बरहदशी गाउँपालिका-२ की लुजुमा खातुनले समेत जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाए ।

    मानवीय क्षतिसँगै हात्तीबाट घरगोठ, पशुधन, भण्डारण गरिएको अन्न र खेतीपातीमा समेत ठूलो क्षति पुग्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै हात्तीबाट पीडित बनेका नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको डिभिजन वन कार्यालय झापाले बताएको छ । सो अवधिमा १५ वटा पशुधन, १ सय ९१ स्थानमा भण्डारण गरिएको अन्न र २ सय ६८ घरगोठमा क्षति पुगेको थियो । वन क्षेत्रको अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभाव हुनु मानव हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन् ।

    हात्तीको आवागमन हुने क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका उपभोक्ता र सुरक्षा निकायबीच समन्वय बढाउने तथा जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । वन्यजन्तुको संरक्षणसँगै नागरिकको जीउधनको सुरक्षा गर्नु अहिले जिल्लाका लागि चुनौती बनेको छ । सीमावर्ती क्षेत्रमा हात्तीको ठूलो समूह देखिन थालेपछि स्थानीय प्रशासन, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij