काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलाे धातुसहित एक चिनियाँ नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहान अन्दाजी ११ः४१ बजे दुबईबाट हिमालयन एयरलाइन्सको उडान नं. एच ९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बीनबीन लीलाई नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेशले नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा रहेको 'वाक थ्रु' गेटमा जाँच गर्ने क्रममा निजले हातमा बोकेको ज्याकेटको खल्तीमा लुकाइछिपाइ ल्याएको सुनजस्तो चारवटा पोका फेला परेको थियो । उक्त पदार्थको तौल एक किलो ६०५ ग्राम रहेको छ।
उक्त धातुसहित नियन्त्रणमा लिइएका चिनियाँ नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij