Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

  • 62
    SHARES
  • अपहरण गरी बन्धक बनाइएका युवकको सकुशल उद्धार, चार जना पक्राउ

    काठमाडौं । सर्लाहीमा अपहरण गरी बन्धक बनाइएका एक युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । गत कात्तिक २७ गते राति करिब १० बजे गोडैता नगरपालिका-९ निवासी ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका-२, फूलपरासीस्थित स्थानबाट अपहरण गरिएको थियो ।

    बरहथवा नगरपालिका-५ निवासी ३१ वर्षीय सन्तोष कुमार महतोसहित ४÷५ जनाको समूहले दुईवटा मोटरसाइकलमा आएर सुनीललाई कुटपिट गर्दै अपहरण गरी पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । घटनाबारे सुनीलका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले अनुसन्धान तथा खोजतलास सुरु गरेको थियो । प्रहरीले कात्तिक २८ गते बिहान करिब ९ बजे बरहथवा नगरपालिका-५ निवासी राजकुमार महतोको घरमा सुनीललाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा फेला पारी सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए ।

    सोही क्रममा सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिइएको उनले बताए । त्यसैगरी घटनामा संलग्न अन्य व्यक्तिहरूलाई सोही दिन बरहथवा नगरपालिका-९ स्थित दूध डेरी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका-५ निवासी ५४ वर्षीय विशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन् ।

    प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट वैदेशिक रोजगारीसम्बन्धी विवाद र सोही विषयको रकम जबर्जस्ती असुल गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ । अपहरणकारीहरूले फिरौती रकम माग गरेको तथा फिरौती रकम तिर्न जाँदा तीन लाख रुपैयाँ र गरगहना लुटिएको भन्दै गलत सूचना दिएर घटनालाई अन्यत्र मोड्ने प्रयाससमेत गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij