वेबटिभी खबर
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच उनले सोमबार प्रदेशसभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परे । त्यस्तै विपक्षमा मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले जनाए ।
मतदानमा ४२ सदस्य सहभागी भएका थिए । उपसभामुख कृष्णी थारू सदनमै रहेपनि मत व्यक्त गरिनन् । उनी एमालेबाट उपसभामुख निर्वाचित भएकी थिइन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य कायम छन् ।
विश्वासका मतका लागि ४१ मत आवश्यक रहेको थियो । मुख्यमन्त्री केसीलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का १८, जनता समाजवादी पार्टी (जसपा) का ३, राष्ट्रिय जनमोर्चाका १ र सूर्य चिन्हबाट निर्वाचित एक स्वतन्त्र समूहका १ सांसदले मत दिएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij