वेबटिभी खबर
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्ने बताएका छन् । शनिबार बुटवलमा उद्योग व्यापार संघ देवदहको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जनसहित गठबन्धनको सरकारले नयाँ बजेट ल्याउन लागेको बताएका हुन् ।
एक वर्षभित्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले काम थालेको उनको भनाइ छ । उनले अहिले बनेको गठबन्धनको सरकारले राजनीतिक रंगको आधारमा नभई आम नागरिकको चाहना र आवश्यकताको आधारमा विकास निर्माणको कामलाई प्राथमिकता दिएर काम गर्ने ठोकुवा गरे ।
मुख्यमन्त्री केसीले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको चाँडै व्यवस्था गर्ने जानकारी दिए । केसीले यसअघिको सरकारले जनतालाई झुटो आश्वासन मात्र बाँडेर प्रदेश र स्थानीय तहको औचित्य नै समाप्त पार्न खोजेको आरोप लगाए ।
केसीले प्रदेश सरकारलाई असफल बनाउन प्रतिगमनकारी लागिरहेको बताउँदै यस्ता शक्तिलाई परास्त पार्न प्रदेश सरकारले जनताको मुहार बदल्ने जनमुखी कार्यक्रम ल्याउने योजना अघि सारेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij