वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत बनाउन सकिने बताएका छन् ।
संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालयको आयोजनामा शुक्रबार सम्पन्न शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाइन कार्यशालालाई ‘सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स’ विषयमा प्रमुख वक्तारुपमा सम्बोधन उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्त मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउँदै शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताए ।
शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पुरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्वमिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उनले जोडदिए ।
तालिम प्राप्त र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न सकिने बताउँदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताए ।
उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij