सुरञ्जन घिमिरे
काठमाडौं । वरिष्ठ नेताहरुको आ-आफ्ना अडानका कारण नेकपा एमालेमा यतिबेला गुटगत ‘शक्ति प्रदर्शन’को प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओली आफूले गरेको कामलाई आधिकारीक भनिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष भने ओलीले एकलौटी गरेका कामहरु आधिकारिक नभएको दावी गरिरहेका छन् ।
सर्वोच्चको आदेशले नेकपा विभाजन हुनअघि अध्यक्ष ओलीको एकलौटी काम गराइबाट तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)-खनाल-नेपाल असन्तुष्ट बनेर झण्डै प्रतिपक्षी दलको भूमिकामा थिए ।
नेकपा विभाजन हुनेगरी सर्वोच्च अदालतबाट भएको आदेशले ओलीविरुद्ध प्रचण्डसँग मिलेका खनाल र नेपालको न्यानो आशनमा चिसो पानी पोख्खिएसरह भयो ।
त्यसपछि एमालेले ०७५ जेठ ३ अघिकै आफ्नो नाम पायो तर साविकका नेताहरूको भरपर्दो साथ भने पाउन सकेको छैन । देशभराका जिल्ला कार्यालयमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले)’ लेखिएको साइनबोर्ड लगाइँदा र अध्यक्ष ओलीकै निर्णयमा सातवटै प्रदेशमा नयाँ इन्चार्ज तोकिँदासम्म खनाल-नेपालले ‘ओलीपक्षले गरेका कुनै निर्णय मान्य नहुने आवाज उठाइरहेका छन् ।
२३ फागुनमा सर्वोच्चको उक्त फैसलाको पाँचदिनपछि ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षका केन्द्रीय कमिटी सदस्यलाई बोलाएर पहिलो बैठक राखे । त्यो बैठकप्रति पनि खनाल-नेपाल पक्षको असन्तुष्टि रह्यो ।
विवाद चुलिँदै गएको बेला सोमबार आकस्मिक रुपमा ओली र नेपाल पक्षबीच धुम्बाराहीस्थित पार्टी कार्यालयमा छलफल सुरु भएको छ । यो छलफलपछि आउने निष्कर्षले एमालेलाई नयाँ दिशा दिने छ । दुबै पक्षबीच बढेको तिक्तता पनि यो छलफलपछि कम हुने आशा गरिएको छ । भेटघाट र छलफलै नहुने अवस्थाको अन्त्य गरेको यो वार्ताको निस्कर्ष बहुप्रतिक्षित बनेको छ ।
खनाल-नेपाल पक्षीय ११ शीर्ष नेताको वक्तव्य
पार्टीको विधि र विधान मिच्दै अध्यक्ष ओली स्वेच्छाचारी ढंगले चलेको आरोपसहित आइतबार खनाल-नेपाल पक्षका ११ शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्ति सार्वजनिक भयो ।वक्तव्यमार्फत खनाल-नेपाल पक्षले पार्टी अध्यक्ष ओली पार्टीको विधि र पद्धति अनुसार नचलेको जिकिर गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले फागुन २८ मा एमालेको केन्द्रीय कमिटीको बैठक भन्दै बालुवाटारमा राखेको आफूपक्षीय गुटको भेलाको कुनै पनि निर्णय नमान्ने पनि खनाल- नेपाल पक्षले बताएको छ ।
वक्तव्यमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र स्थायी समिति सदस्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकन्द न्यौपाने र सुरेन्द्र पाण्डेले हस्ताक्षर गरेका छन् ।
आफूनिकटलाई ओलीको एसएमएस !
यता अध्यक्ष ओलीले आफू निकटका केन्द्रीय सदस्यलाई एसएमएस गरेर बालुवाटारमा निम्तो दिएका छन् । केन्द्रीय सदस्य आपसमा भावनात्मक सम्बन्ध स्थापित गर्नका लागि ती सदस्यलाई एसएमएस गरेरै चैत ३ गतेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीका स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी गराएका छन् ।
एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी अध्यक्ष ओली एकलौटी निर्णयबाट अघि बढ्न खोजेको असन्तुष्टि जनाउँदै एमालेभित्र समानान्तर संगठन बनाइरहेका बेला ओलीले सरकारी निवास बालुवाटारमै आफू निकटका केन्द्रीय सदस्यलाई एसएमएसमार्फत निमन्त्रणा पठाएका हुन् ।
‘एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यूले केन्द्रीय कमिटीको १२ औं बैठकका सन्दर्भमा आयोजना गर्नु भएको चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रममा यहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ । चैत्र ३ गते, प्रधानमन्त्री निवास बालुवाटार,’ ओलीले पठाएको एसएमएसमा भनिएको छ ।
‘अध्यक्षज्यूसँग भेट नभएको धेरै भएको थियो, चियापान आयोजना हुने भएपछि उहाँसँग भेट पनि हुने भयो । यो कार्यक्रमले पार्टीका हामी सबैमा सौहार्दता थप्ने छ,’ प्रधानमन्त्रीको एसएमएस पाएपछि ओलीपक्षीय एक नेताले भने ।
यता प्रधानमन्त्रीका स्वकीय सचिव भण्डारीले भने पार्टी अध्यक्ष ओलीले एमालेमा आफ्नो पक्षका र अर्को पक्षका नेता भन्ने नै नरहेको दाबी गर्दै एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यलाई नै एसएमएसमार्फत निमन्त्रणा गरिएको बताए । तर खनाल-नेपाल पक्षका नेताहरू भने ओलीले सरकारी निवासमा पार्टी केन्द्रीय कमिटीको बैठक राख्नु पार्टी विधान विपरित भएको ठहर गर्छन् ।
‘अध्यक्षले आफूखुसी बोलाएर गर्नुभएको भेलाको निर्णय हामीलाई मान्य छैन । २८ गतेको बैठकको निर्णय पनि हामीलाई स्वीकार्य छैन,’ खनाल-नेपाल पक्षका एक केन्द्रीय कमिटी सदस्यले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij