सुरञ्जन घिमिरे
काठमाडौं । नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहहरू फुट्ने र जुट्ने भइरहेको छ । तर, यसपटक नेपाल कम्यनिस्ट पार्टी (नेकपा) मा आएको विभाजनले भने नेताहहरूको गाली गलौज कौसललाई सतहमा ल्याइदिएको छ ।
कांग्रेस, मधेसवादी दल, राप्रपा पनि फुट्दै जुट्दै गरेका छन् । यी तीन दल फुट्दा भन्दा नेकपा फुट्न थाल्दा ठूलो स्वरमा आवाज आयो ।
०७५ जेठ ३ मा जब नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकता हुँदै थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला भनेका थिए, ‘हामी अब टेम्पोका चालक होइनौं, बोइङका दुई पाइलट हौं ।’
यसो भन्दै नेकपाका तत्कालीन कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को गुणगानमा ओलीले निकै शब्द खर्चिए ।
प्रचण्डले पनि एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई ओलीले अवलम्बन गर्दै नेकपा एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै ओलीको उदारताको प्रशंसा गरे ।
एक अर्काको प्रशंसा गर्ने क्रम लामो समय चल्यो । तर, जब ०७७ कार्तिक २८ मा बसेको नेकपा सचिवालय बैठकमा प्रचण्डले ‘ओली प्रवृत्ति’बारे १९ पेज लामो प्रतिवेदन पेश गरे तब यी दुवै पात्रबीच कटुता सिर्जना भयो ।
यसपछि मंसिर १३ मा बसेको नेकपा सचिवालय बैठकमा ओलीले पनि ४० पृष्ठको राजनीति प्रतिवेदन पेश गर्दै प्रचण्डले लगाएको आरोपको खण्डन गरे ।
ती पाइलट, यी आरोप-प्रत्यारोप
यी दुई घटनाले ओली र प्रचण्डबीचको विवादलाई सतहमा ल्याइदियो । आपसमा एक अर्काको प्रशंसा गर्ने नेताहहरू गालीगलौजकै तहमा उत्रिए ।
प्रचण्ड र उनीसँग मिलेका माधव नेपाल, झलनाथ खनालले काम गर्न नदिएको भन्दै प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा नै भंग गरे ।
प्रतिनिधिसभा विघटनलाई प्रचण्ड-नेपाल पक्षले प्रतिगमन भन्दै ओलीलाई निरंकुश शासक बन्न लागेको आरोप लगाए ।
प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा लगातार आयोजित सभाहरू एक अर्कालाई गाली गर्नमा केन्द्रीत भयो । ओलीले प्रचण्ड र नेपाल पक्षलाई कुर्सी मोहमा फँसेको, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न नसकेको, परिवारवादमा लिप्त भएकोजस्ता आरोपहरू हरेक सभामा लगाउँथे ।
प्रचण्ड-नेपाल पक्षले पनि ओली र उनका समर्थकको विरोध गर्न सभा आयोजना गरेजस्तो देखिन्थ्यो । नेकपाको आन्तरिक विवादले मुलुकको सिंगो राजनीतिमा नै एकाएक अस्थिरता सिर्जना भयो । अस्थिरतको दोष ओलीले प्रचण्ड-नेपाल पक्षलाई र प्रचण्ड-नेपाल पक्षले ओलीलाई दिने क्रम अझैसम्म चलिरहेकै छ ।
यसपछि नेकपाका नेताहरू प्रचण्ड, नेपाल र वरिष्ठ नेता खनाल पक्ष र ओलीपक्षमा विभक्त भएर एक-अर्काबीच आरोप-प्रत्यारोपमा उत्रिए । केन्द्रमा मात्र नभएर जिल्लातहसम्म एक अर्काका समर्थकलाई गालीगलौज गर्ने क्रम चलिरह्यो ।
प्रतिनिधिसभा विघटनपछि विरोधसभामा गोरखा पुगेकी प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिसम्मलाई गाली गर्न भ्याइन् ।
महाकाली सन्धि भएपछि असन्तुष्ट बनेर साविक एमाले फुटाएर माले बनाउँदा वामदेव गौतममाथि गम्भीर आरोपहरू लगाइयो ।
पार्टी फुटाएपछि उनलाई एमालेका नेताहरुले भ्रष्टाचारी घोषणा नै गरे । एमालेका नेता प्रदीप नेपालले खुलामञ्चमा कार्यक्रम आयोजना गरेर गौतमलाई भ्रष्टाचारीको आरोप लगाएका थिए ।
उनै गौतम पछि फेरि एमालेमै गए । गम्भीर आरोप लगाइएका गौतम एमालेको चल्तापूर्जा र लोकप्रिय नेतामा पुनर्स्थापित भए । पार्टीको उपाध्यक्ष नै भए ।
यस्तै १७ असोज ०७२ मा माओवादी केन्द्र छाडेर निस्कँदा डा.बाबुराम भट्टराईले माओवादीलाई रातो स्टिकर टाँसेको घरको संज्ञा दिएका थिए ।
माओवादी परित्याग गरेपछि उनले गठन गरेको नयाँ शक्ति पार्टीका हरेकजसो सभामा प्रचण्डलाई गाली गरे ।
कांग्रेस, राप्रपा र राजपा अलिक नरम
कांग्रेस, राप्रपा र मधेसवादी दलहरू फुट्दा नेताहरूले कम्युनिस्ट नेतालेजस्तो एकअर्कामा कम गाली गरेको देखिन्छ ।
राजनीतिक विश्लेषक नरेन्द्रजंग पीटरले फुट्दाएक अर्कालाई गाली गलौज गर्नेमा कम्यनिस्ट नेताहरू नै अग्रपंक्तिमा देखिएको बताए । ‘काम्युनिस्ट भनिने दलबाहेकमा आज गाली, गलौज गर्दा भोलिको अवस्था कस्तो आउला, सँगै काम गर्ने स्थिति आए पनि असहज हुने, नहुने विचार गरेर आलोचना गर्छन्,’ पिटर भन्छन्, ‘तर कम्युनिस्ट पार्टीमा भने भोलिको अवस्थाबारे विचारै नगरी तल्लो स्तरमा पुगेर नेताहरू एकअर्कालाई गाली गर्ने गर्छन् ।’
नेकपा विभाजनबाट सबैभन्दा फाइदा पुगेको नेपाली कांग्रेसका नेता पनि गालीगलौज सुनेर खुसी छैनन् । कांग्रेसनेतृ एवं सांसद डीला संग्रौला नेकपा भन्छिन, ‘नेकपा नेताहरूको भाषण सुन्दा, यत्ति साह्रो त नभनेको भए हुन्थ्योजस्तो लाग्छ ।’
आपसमा गाली गलौज गर्ने कम्युनिस्ट चरित्र नभएको पीटर बताउँछन् । ‘
वास्तवमा गाली गलौज गर्ने कम्युनिस्टको चरित्र होइन । आफूलाई कम्युनिस्टको साइनबोर्डमुनि राखेर राजनीति गर्ने बानी परेका गैरनेताको गैरराजनीति संस्कार मात्र हो,’ पिटर भन्छन्, ‘कम्युनिस्टहरू हरेक कुरालाई सैन्दातीकरण गर्न चाहन्छन्, तर नेपालमा यसको गलत अवलम्बन भइरहेको छ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij