Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

दक्ष जनशक्ति अभाव हुँदा आइसीयू र भेन्टिलेटर प्रयोग बिहीन

दक्ष जनशक्ति अभाव हुँदा आइसीयू र भेन्टिलेटर प्रयोग बिहीन

  • 417
    SHARES
  • दक्ष जनशक्ति अभाव हुँदा आइसीयू र भेन्टिलेटर  प्रयोग बिहीन

    म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।

    गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असार महिनामा अस्पतालमा १ करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच श्यया क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो ।

    ती उपकरण प्रयोगबिहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्ला बाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयवासी खम थापाले बताए ।

    ‘तत्कालै आइसियूमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,’ उनले भने ‘हेलिकप्टर चार्डर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा जाँदा जादैँ बाटोमै ज्यान गुमाउनुपरेको छ ।’

    दरबन्दी र जनशक्ति नहुँदा उपकरण भएपनि आइसीयू चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ । आइसियू कक्ष सञ्चालन गर्न कम्तीमा ४ जना मेडिकल अधिकृत, १० जना स्टाफ नर्स, २ जना परामर्शदाता र ४ जना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कंडेलले जानकारी दिए ।

    ‘५० श्यया क्षमताका अस्पतालमा हाल रहेका ७ चिकित्सक र करारका सहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,’ उनले भने ‘आइसीयू चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ । आधारभूत सेवालाई प्राथमिकता दिनुपर्यो । आइसीयू चलाउने जनशक्तिको दरबन्दीनै छैन् । चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ ।’

    गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियू कक्ष बनाएर डेढ बर्षअघिनै उपकरण जडान भएका थिए । अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसीयू कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

    अस्पतालको सबै श्ययामा पलान्टबाट पाइप मार्फत अक्सिजन आपूर्ति गर्ने ब्यवस्था मिलाइएको छ । विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आइसीयूलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij