वेबटिभी खबर
मुगु । चार दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गतको नाग्म-गमगढी सडक खण्ड खुलाउने प्रयास जारी रहेको छ । शुक्रबारदेखि परेको भारी हिमपातले नाग्म-गमगढी सडक खण्डको भुलभुले, घुच्ची लेक हुँदै पिना गाउँसम्म पुग्ने सडक अवरूद्ध भएको हो ।
यस ठाँउमा करिब तीन फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । कार्यालयकाअनुसार अवरूद्ध सडक खुलाउन जेसीबीसहित तीन जना प्रहरी समेत खटाएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक सुवाष हमालले बताए ।
पुसमा पहिलो पटक परेको हिमपातले पनि नाग्म-गमगढी सडक बन्द भएको थियो । यसबेला पनि डोजर लगाएर खुलाइएको थियो । उनले भने, ‘यसपटक पनि डोजर परिचालन गरिएको छ । सायद आज बेलुकासम्म सडक खुल्छ की । हिजोदेखि हिउँ पन्छाउन डोजर र प्रहरी प्रयोग गरेका छौं, हिमपातले जमिन नछोडेपछि हिउँ पन्छाउन समस्या भएको छ ।’
यो सडक खण्ड हिउँदमा हिमपात र वर्षामा पानीले अबरूद्ध हुँदै आएको छ । १ पुस २०६९ मा मुगु सडक सञ्जालमा जोडिएपनि हालसम्म सडकको स्तरोउन्नति नहुँदा वर्षको चार महिना मात्रै सवारी सहज रूपमा चल्छ ।
सडक खुलेको लामो समय भै सक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, नाला, ढल, कल्भडको व्यवस्था नहुँदा पटकपटक सडक अवरूद्ध हुने गरेको स्थानीयको दुखेसो छ । हरेक वर्ष आठ महिना सडक बन्द हुँदा उपभोग्य सामग्री समेत अभाव हुने गरेको व्यापारीहरू बताउँछन् ।
साथै सडकको नाममा हुने राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सडकका कारण स्थानीय तहका बिकास निर्माणका काम समेत प्रभावित हुने गरेका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या हुने गरेको स्थानीयले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij