वेबटिभी खबर
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखापरेका असन्तुष्टि सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अस्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजेपछि समस्या समाधान अन्योलपूर्ण बनेको छ । योसँगै अस्ट्रेलियाको महाधिवेशन प्रतिनिधि छनोट थप विवादित बनेको हो ।
गत जुलाईमा ६४ एनसीसीहरूको निर्वाचन सम्पन्न भए पछि महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । सो क्रममा अस्ट्रेलिया, अमेरिका, बेलायतको प्रतिनिधि छनोटमा केही पक्षले असन्तुष्टि व्यक्त गरेका थिए । सोही असन्तुष्टि सम्बोधनका लागि संघको ८१औँ आइसीसी बैठकको निर्णयअनुरूप शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो । तर, घलेले सो समितिमा अस्ट्रेलिया महाधिवेशन प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको दाबी गरेका हुन् ।
घलेले समितिको छलफलबाटै अस्ट्रेलिया विवादको एजेन्डा नै हटाइदिएका छन् । यसैबीच घलेको सो कदमविरुद्ध गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका निवर्तमान महासचिव डा। ज्ञानेन्द्र रेग्मीले आपत्ति जनाएका छन् । रेग्मीले उच्चस्तरीय समितिलाई एक पत्र लेख्दै प्रतिनिधि चयनमा वर्तमान कार्यसमितिले पदीय अधिकारको दुरुपयोग गरि धाँधली गरेको दावी गर्दै ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि विधानअनुरूप सच्याउन माग गरेका छन् । उनले संघको विधि र विधान मिचेर पन्जिकृत सदस्यहरूमाझमा निर्वाचन नगरी पठाएको २५ प्रतिशत प्रतिनिधि खारेजीको माग गरेका छन् ।
रेग्मीले निवर्तमान अध्यक्ष केशव कँडेलले आफ्नै कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधि सूचीमा नराखेको आरोपसमेत लगाएका छन् । रेग्मीद्वारा उच्चस्तरीय समितिमा प्रेषितपत्रमा मापदण्डविपरीत १३ जना पूर्वएनसीसी सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि बनाइएकोसम्बन्धी उजुरी यसअघि नै आईसीसी अध्यक्ष कुमार पन्तसमक्ष पेस गरिसके पनि कुनै सुनुवाइ नभएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij