वेबटिभी खबर
सर्लाही । पटक–पटक रोकिएको सर्लाही कांग्रेसको जिल्ला अधिवेशन फेरि फागुन १५ गतेबाट सरेर २० गते हुने भएको छ । आसन्न जिल्ला अधिवेशनमा डा.शेखर कोइराला प्यानलबाट पूर्वसभापति लक्ष्मण राय र संस्थापन पक्षबाट वहालवाला उपसभापति सुरेन्द्रप्रसाद सिंहले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा पार्टीका तर्फबाट खटिएका राय इमानदार नेताका रुपमा चिनिन्छन् । सिंह कांग्रेस राजनीतिमा रायको तुलनामा निकै जुनियर हुन् । ठेकेदारीबाट राजनीतिमा आएका सिंहलाई आफू सभापति हुँदा रायले नै पहिलो पटक जिल्ला उपसभापति बनाएका थिए । गत चुनावमा लक्ष्मण राय र नागेन्द्रकुमार रायबीच पार्टी सभापतिको चुनाव हुँदा सिंह लक्ष्मणकै पक्षमा थिए । तर, चुनाव नागेन्द्रकुमारले जितेपछि सिंह उतै लागेर दोस्रोपटक उपसभापतिमा मनोनित भए ।
पार्टीले गरेको आन्दोलनमा सहभागी नभए पनि पछिल्लो पटक कांग्रेस राजनीतिमा निकै सक्रिय सिंह वर्तमान पार्टी सभापति नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि मात्र सभापतिको उम्मेदवार बनेका हुन् । नागेन्द्रकुमारले सभापतिमा उम्मेदवारी दिन नपाउने भएपछि विकल्पमा संस्थापन समूहबाट सिंहलाई अघि सारिएको हो ।
नागेन्द्रकुमार राय महाधिवेशन प्रतिनिधिमै हारेपछि लक्ष्मण रायको विकल्पमा संस्थापनबाट शक्तिशाली उम्मेदारकै अभाव थियो । जिल्ला संस्थापनभन्दा बाहिर जाने अवस्था देखिएपछि संस्थापनले पैसावाला उम्मेदवार सिंहलाई अघि सारेको हो । सिंहले जिल्ला अधिवेशन अनिश्चित भएकै बेलामा पनि आफ्नो प्रचारलाई तीव्र बनाएका राखेका थिए । सभापतिमा जित्नका लागि उनले पानी सरह पैसा खर्च गरिरहेको उनी पक्षका कांग्रेस कार्यकर्ता बताउँछन् ।
राय संसदीय निर्वाचन क्षेत्र नम्बर २ का हुन भने सिंह ४ का हुन् । १४ औं महाधिवेशनका लागि भएको क्षेत्रीय अधिवेशनमा सिंहले आफ्नै क्षेत्रका संघीय सांसद अमरेश सिंहलाई महाधिवेशन प्रतिनिधिमै आउनबाट रोके । अमरशेको विरुद्ध खुलेर लागेको सुरेन्द्रको पुरै प्यानलले क्षेत्रीय समिति र महाविधेशन प्रतिनिधिमा एकलौटी जितेको थियो ।
अमरेशलाई क्षेत्रबाट पत्तासाफ गरेर उत्साहित भएका सिंहलाई जिल्ला सभापतिमा संस्थापनबाट उम्मेदवार हुने अवसर जुटेपछि त्यसको तयारीमा कुनै कसर बाँकी राखेका छैनन् । गत चुनावसम्म अमरेश जिताउन मद्दत गरिरहेका र देउवा इतर गुटमा सक्रिय रहेका सिंहले शक्ति आर्जनका लागि गुट परिवर्तन गरेको उनका आलोचकको आरोप छ ।
गत चुनावसम्म संस्थापन इतर रहेका सिंह देउवा शक्तिमा आएलगत्तै संस्थापतर्फ लागेका हुन् । सिंहका सहोदर भाइ एवं सोही क्षेत्रका प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहले संस्थापन पक्षको उम्मेदवार भएर मधेस प्रदेशको पार्टी उपसभापतिको चुनाव जिते । वीरेन्द्र हाल प्रदेश सरकारको महिला बालवालिका मन्त्री पनि हुन् । बिमलेन्द्र निधिसँग निकट भएर प्रदेश सरकारको मन्त्री बनेका वीरेन्द्र प्रदेश चुनावका बेला निधिलाई छाडेर देउवातर्फ लागेका थिए ।
सिंहका भाइ वीरेन्द्र प्रदेश उपसभापति भएकाले स्थानीय चुनावमा टिकट दिन्छु भन्दै धेरैलाई आफ्नो पक्षमा तानेका छन् । संस्थापन पक्षको भएकाले स्वतः शक्तिशाली, स्थानीय चुनावमा टिकट दिनसक्ने प्रदेशको उपसभापति र बहालवाला प्रदेश मन्त्रीको दाजु भनेर पनि सिंहको पक्षमा माहौल बन्दै गएको उनी निकट नेताहरुको दावी छ । सभापतिमा राय हरेक दृष्टिकोणले उपयुक्त हुँदा हुँदै पैसा र पावरका कारण सिंह पनि कमजाेर छैनन् ।
‘लक्ष्मण रायसँग चुनाव लड्ने हाइटको उम्मेदवार अर्को समूहमा देखिएको छैन्,’ कांग्रेस नेता एवं नेविसंघका पूर्व जिल्ला अध्यक्ष निरमुनी मैनालीले भने, ‘इमानदारी, सादगी र प्रतिवद्धतामा रायको तुलनामा अर्को उम्मेदवार छैन् ।’
रायको चर्चा गणेशमान सिंह जस्तो आँटिलो, कृष्णप्रसाद भट्टराई जस्तो सरल एवं सादा जीवन शैली भएको र गिरिजाप्रसाद कोइरालाको जस्तो अडान राख्ने भनेर कांग्रेस मात्र नभएर अन्य दलमा पनि हुने गर्छ । कांग्रेसको गरिमा कायम राख्न पनि राय सभापति हुनुपर्ने धेरैको धारणा छ ।
‘ठेकेदार पृष्ठभूमि भएकाले सिंहबाट कांग्रेस सभापतिको गरिमा कायम हुनेमा शंका छ,’ संस्थापन पक्षकै एक नेता भन्छन, ‘संस्थापन पक्षले पैसाको भरमा जित्न सक्ने भनेर जो पायो त्यसलाई उम्मेदवार बनाउनु गलत हो । पार्टीका लागि काम गरेका साथीहरुको कमी छैन् । जित्ने मात्र उदेश्य राख्ने भन्दा पनि नेतृत्वमा गरिमा पनि हुनुपर्छ ।’
पार्टीमा गुट हेरेर भोट दिने प्रचलनले गर्दा असल नेताहरु पाखा लाग्ने अवस्था आएकोमा धेरैले असन्तुष्टि जनाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij