पवित्रा खड्का
काठमाडौं । फागुपूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ । होलीको अघिल्लो साँझ नेपालको वसन्तपुर दरबार अगाडि होलिका दहन गरेर यस चाडको सुरुवात गरिन्छ ।
हिन्दू धर्म मान्नेहरूको बाहुल्यता भएको नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ । नेपालमा पहाडी क्षेत्रमा फागुपुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलिपल्ट मात्र तराईमा होली मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि भित्र्याएको छ । अर्कोतर्फ स्वास्थ्यका हिसाबले होलीमा प्रयोग गरिने रङ्गबाट पनि सतर्क रहनुपर्छ । होलीमा प्रयोग गरिने विभिन्न रङ्गहरू रासायनिक वस्तु हुन् । जसको नकारात्मक प्रभाव शरीरमा हुने गर्छ भन्ने सबैले बुझ्नु जरूरी छ । होलीमा मुख्यतः प्रयोग गरिने रातो रङ्गमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व हुन्छन् ।
यी रासायनिक तत्वहरूले छाला, आँखा, कानलगायत शरीरका विभिन्न अंगमा नकारात्मक असर पुर्याउँछ । यसको प्रयोगले सामान्य एलर्जीदेखि क्यान्सरसम्म हुन सक्ने सम्भावना बढ्छ । उक्त वस्तुहरू कुनै कारणवश खाने नलीमा प्रवेश गरे चक्कर आउने, वान्ता आउने, पेट दुख्ने हुन सक्छ ।
प्रायःजसो सबै रङ्गमा हुने रसायनले शरीरको नरम छालामा एलर्जी गराउने गर्छ । फलस्वरूप छाला रातो हुने, चिलाउने, रातो डाम बस्ने हुन सक्छ । आँखामा प्रवेश गरे चिलाउने, रातो हुने, पानी बग्ने, हुन सक्छ । त्यस्तै कानमा प्रवेश गरे चिलाउने र पछि गएर कान पाक्नेसम्म हुन सक्छ ।
हुन त वैज्ञानिक दृष्टिकोणबाट शरीरलाई कम असर पुग्ने किसिमले रङ्ग बनाइएका हुन्छन् । रङ्गमा पाइने विशाक्त रसायनका अणु एकअर्कासँग कसिएर बाँधिएका हुन्छन् । जसका कारण शरीरमा असर पर्दैन । नीलो रङ्गमा हुने विषाक्त साइनाइड, आइरनसँग कसिएर बाधिएको हुन्छ । तसर्थ शरीरमा विषको कुनै प्रभाव हुँदैन । तर यी रङ्गहरूले शरीरमा एलर्जी गर्ने प्रचुर सम्भावना रहन्छ । होलीका नाममा प्रयोग गरिने सिल्भर पेन्टमा हुने एलमुनियम ब्रोमाइडले एलर्जीका साथै क्यान्सर हुने सम्भावना बढाउँछ । त्यस्तै, होलीमा गलत नियतका साथ प्रयोग गरिने कालो मोसो, मोबिल, फोहोर पानी विकृति मात्र होइन, यसले शरीरमा गम्भीर नकारात्मक असर पार्न सक्छ । फोहोर पानीमा शरीरमा घातक जीवाणुको संक्रमण हुन सक्छ । साथै छिट्टै एलर्जी हुन सक्छ ।
होली खेल्दा स्वास्थ्यका दृष्टिकोणबाट आफू बच्ने र अरूलाई बचाउने भरपुर प्रयास गर्नु उचित हुन्छ । डाक्टरहरुका अनुसार होलीको रङ्गको असरबाट बच्नका लागि रङ्ग खेल्नु अघि शरीरमा उपयुक्त तेल लगाएर खेल्नुपर्छ, कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रङ्ग लगाउनु कसैलाई पनि दिनु हुन्न । यदि कसैलाई छालाको एलर्जी छ भने त्यस्ता मानिसले रङ्ग नखेल्न चिकित्सकले सल्लाह दिएका छन् ।
चिकित्सकका अनुहार रङ्गले निम्न प्रकारका असरहरु गर्न सक्छ ।
१. छाला अत्यधिक चिलाउने
२. छालामा कत्लाहरु आउने
३. आँखामा एलर्जी हुने
४. नङ्गहरुको वरिपरि एलर्जी हुने
५. छाला सुख्खा हुने तथा फुट्ने
६. कपाल झर्ने तथा रुखो सुख्खा हुने
७० डंडीफोर तथा चाया बढ्ने
रङ्ग खेल्नु अघि अपनाउनु पर्ने उपायहरु
१. सकेसम्म प्राकृतिक रङ्गहरुको प्रयोग गर्ने ।
२. शरीरमा कपडा पुरै ढाक्ने गरि लगाउने
३. शरीर सुख्खा हुन नदिने तथा मोईस्चराईजरको प्रयोग गर्ने ।
४. होली खेल्न जान अघि घामबाट जोगाउनको लागि क्रीमको प्रयोग गर्ने ।
५. आँखामा राम्रो गुणस्तरको सनग्लासको प्रयोग गर्ने
६. होली खेलिसकेपछि राम्रो संग नुहाउने ।
७. कडा रङ्गलाई रगडेर ननिकाल्ने बरु बिस्तारै भिजाएर निकाल्ने।
८. नुहाई सकेपछि शरीरमा तेल वा क्रिम लगाउने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij