वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले कांग्रेसले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा भन्दा पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउने भन्ने विषयलाई केन्द्रमा राखेको बताएका छन् ।
कांग्रेसले सबैभन्दा बढी सिट कसरी हासिल गर्छ त्यही सोचेर अगाडि बढ्ने नीति अख्तियार गरेको उनले बताए । नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगञ्जमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा.महतले सत्तारुढ गठबन्धनका बारेमा कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यसैअनुसार निर्णय लिने बताए ।
उनले भने, ‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं ।’ आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने उनले बताए ।
कांग्रेसले चैतभित्रै उम्मेदवारको टुंगो लगाउने पनि उनले दाबी गरे । उनका अनुसार कांग्रेसले यसपटक समयमै उम्मेदवारहरूको टुंगो लगाएर निर्वाचनमा होमिन्छ । अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो पटक नहुने उनले बताए ।
उनले निर्वाचन केन्द्रित ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आह्वान पनि गरे । यसपटक जित्ने मान्छेलाई मात्र उम्मेदवार बनाइने उनको भनाइ छ ।
उनले भने,‘मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ ।’ प्रवक्ता डा.महतले एमसीसीका बारेमा सत्ता साझेदार वा विपक्षीले खडा गरेको भ्रमको पर्दा खुलेको र कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए ।
एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij