वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरूपयोग भएको बताएका छन् ।
आज शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महतले भने, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १९/२० अर्ब रकमको व्यापक दुरूपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन ।’
ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपर्दो ढंगबाट सो आयोजनाको रकम बाँडेर सकिएको उनको आरोप थियो । प्रवक्ता महतले उक्त आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो ? भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको उनले बताए ।
कुनै पारदर्शी योजनाबिना नै आयोजना ल्याइएको र सडकको फोहोरर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको उनले बताए । उनले ओली सरकारका पालमा कयौं अनियमिता भएका र जसका कारण देश आर्थिकरूपमा तहसनहस हुन पुगेको बताए ।
भ्रष्टाचार, अनियमितता तथा कम्युनिष्ट सरकारका अनेक ज्यादतिका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार निर्माण भएको उनले बताए । उनले आगामी सबै निर्वाचनहरूमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने भन्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्नु पनि आग्रह गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij