वेबटिभी खबर
काठमाडौं । २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको धरहराको सबै काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको भौतिक रूपमा सबै काम सकिएको जानकारी दिएकाे छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ गते ११ बजे धरहराको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । भूकम्पले भत्काएको संरचनाको पुनर्निर्माण सम्पन्न भए पनि विद्युत वायरिङ, पाइपलाइन फिटिङ र विभिन्न सूचना टाँस्ने काम बाँकी भएकाले सर्वसाधारणका लागि खुला हुन मंसीरसम्म समय लाग्ने बताइएको छ ।
भूकम्प गएको तीन वर्षपछि मात्र धरहरा पुनर्निर्माणले गति लिएको हो । प्रधानमन्त्री ओलीले ०७५ पुस १२ गते यसको पुनर्निर्माणको उद्घाटन गरेका थिए । निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ ।
भूकम्पलगत्तै धरहराको भग्नावशेष पन्साउने र त्यहाँ रहेका पसल, टहरा हटाउने काम काठमाडौं महानगरपालिकाले गरेको थियो ।






Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij