वेबटिभी खबर
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत नदिएको प्रारम्भिक मत परिणामले पुष्टि गरेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।
‘गठबन्धनका अन्य दलका मतदाताले तालमेल हुँदा कांग्रेसबाट जुन पदमा उम्मेदवारी परेको छ, इमान्दारीपूर्वक मत दिएका दिएको देखियो तर कांग्रेसबाट देखिएन । बरु बागी उठेकालाई भोट दिएर जिताएको देखियो’, उनले भने, ‘गठबन्धन दलहरूबीचको तालमेलको मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन भयो ।’
कांग्रेसबाट बागी उम्मेदवार भएर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार शाहले अग्रता लिइरहेका छन् । गठबन्धनका उम्मेदवार लालकिशोर साहको निकै कम मत छ । पाँचथरको फालेलुङ गाउँपालिका-१ मा त कांग्रेसकै बागी अनिश गुरागाइँले गठबन्धनको उम्मेदवारलाई पराजित गरे । काभ्रेको धुलिखेलमा पनि कांग्रेसका बागी उम्मेदवार शक्तिशाली देखिएका छन् । अन्य स्थानीय तहमा पनि छ ।
परिणाम सोचे जस्तो आउने नदेखिएको र नआउने देखिनुमा कांग्रेस जिम्मेवार रहेको नेता गजुरेलले बताए । तर, पनि माओवादीले यस पटक २०७४ सालमा भन्दा बढी स्थानीय तह जित्ने उनको दाबी छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij