वेबटिभी खबर
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय ललितपुरस्थित सानेपामा सुरु भएको छ । बैठक मंगलबार निर्धारित समयअुनसार दिउँसो २ बजेदेखि सुरु भएको हो ।
बैठकमा सरकारले एक वर्षमा प्राप्त गरेका उपलब्धि, पाँचदलीय गठबन्धन, आगामी संघ तथा प्रदेश निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा मंगलबारसम्म कांग्रेस प्रदेश सभापतिसहित ४८ नेताले आफ्नो भनाइ राखेका थिए ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको थियो । बैठकको पहिलो दिन सातवटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए ।
बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी छलफल भएको थियो । यसैगरी मंगलबार बसेको बैठकमा वरियता क्रम प्रस्ताव गरिएको थियो । उक्त प्रस्तावको वरियताक्रमको पहिलो नम्बरमा केन्द्रीय सभापतिलाई राखिएको छ भने अन्तिम १२१ मा कांग्रेस सदस्य रहनेछन् ।
उक्त वरियता प्रस्तावमा कांग्रेस प्रदेश सभापतिहरूले आपत्ति जनाएका थिए । केन्द्रीय सदस्यहरू भन्दा आफूहरूलाई तल राखेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
उक्त प्रस्तावित वरियाताक्रममा केन्द्रीय सदस्यहरूलाई ९ नम्बरमा राखिएको छ भने प्रदेश सभापतिहरूलाई ११ नम्बरमा राखिएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij