वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई केही चिज दिने सपना आफूले राखिराखेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले आगामी संघीय तथा प्रदेशसभा सदस्य निर्वाचन आफ्नो अन्तिम कार्यकाल हुन सक्ने पनि बताएका छन् । उनले भने, ‘मलाई नै भन्नुहुन्छ भने हुनसक्छ मेरो यो लास्ट इनिङ्स । यो लास्ट इनिङ्स चाहिँ पछिसम्मको सन्ततिलाई सम्झिनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’
स्थानीय तहको निर्वाचनमा पार्टीले गरेको आँकलनअनुसार नतिजा नआएको उनको भनाइ छ । पार्टीले १७५ सिटको आँकलन गर्दा पनि पहिले जितेका झन्डै ५० सिटलाई जोगाउन नसक्दा आफूहरूले सोचेअनुसारको नतिजा नआएको उनले बताए ।
अबको निर्वाचनमा माओवादी केन्द्र देशकै पहिलो पार्टी नभएपनि बामपन्थी पार्टीहरू मध्ये भने पहिलो हुने प्रचण्डले बताए । आगामीसंघ र प्रदेशको निर्वाचनमा स्थानीय तहको अनुभवलाई समीक्षा गरेर तालमेल गर्दा पनि पहिलो हुनेगरी अघि बढ्ने उनको भनाइ छ ।
चुनावमा कांग्रेसले सहयोग गरे सबै चिजहरू सहज रूपमैअघि बढ्ने र असहयोग गरे सहज रूपले अघिनबढ्ने प्रचण्डले चेतावनीसमेत दिएका छन् ।
उनले भने, ‘मैले कांग्रेसका नेताहरूसँग कुरा गर्दा पहिलो अहिले तपाईहरू नै भएपनि दोस्रो चाहि माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ होइन भने सहज जाँदैन।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij