काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका उपप्रमुख मीराकुमारी यादव भारतीय नागरिक रहेको दाबी गर्दै उजुरी परेको छ ।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट डाक्नेश्वरी नगरपालिकाको उपप्रमुखमा निर्वाचित यादवविरूद्ध कीर्ते गरि नागरिकता लिएको आरोपसहित जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दर्ता भएको हो ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले उजुरी परेको र उक्त विषयमा आवश्यक अनुसन्धन गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेको छ । अनुसन्धान गर्न भ्याइएको छैन । अब छिट्टै अनुसन्धान हुन्छ ।’
उपमेयर यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको उजुरीमा दाबी गरिएको छ । मीरा, महेन्द्रसहित उनीहरूका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ ।
अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र उनीहरू भारतीय रहेको प्रमाणको रूपमा उजुरीमा समावेश गरिएको छ ।
तर प्रमाणको रूपमा पेस गरिएका कागजात र आरोपको सत्यता अनुसन्धानबाट मात्र खुल्ने भएकाले अहिले नै दोषीको रूपमा हेर्न नमिल्ने प्रमुख जिल्ला अधिकारीकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology