वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल-जापान सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् ।
पाँचदिने जापान भ्रमणका लागि शनिबार जापान पुगेका अध्यक्ष दाहालले आज टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली पत्रकारसँगको कुराकानीमा नेपाल-जापान सम्बन्धका बारेमा त्यहाँका राजनीतिक दलका नेतासँग आफूले छलफल गर्ने बताए ।
उनले भने, ‘उच्चस्तरीय भ्रमणले सकारात्मक माहोल बन्छ । दुई देशबीचको सम्बन्धलाई विकसित गर्न, आर्थिकलगायत अन्य सहयोगको क्षेत्रलाई विस्तार गर्न यस्ता भ्रमणले वातावरण बन्छ ।’
जापान नेपालको विकासमा दातृ राष्ट्रका रूपमा रहेको बताउँदै उनले नेपालको विकासमा आफूले बारम्बार जापान सरकारका प्रतिनिधिसँग कुराकानी गर्दै आएको स्मरण गरे ।
आफू जापानमा रहँदा त्यहाँका नेपालीका लागि नेपाल सरकारले के गर्न आवश्यक छ भन्नेबारेमा अध्ययन गर्ने उनको भनाइ छ ।
उनले भने, ‘विभिन्न व्यवसायमा रहेका, विद्यार्थीलाई नेपालका तर्फबाट त्यहाँको सरकार र राजनीतिक दलका तर्फबाट के गर्न उचित हुन्छ भन्नेबारेमा म गहिरोसँग अध्ययन गर्छु ।’
नेपाली जनताले विकास र समृद्धि चाहेको उल्लेख गर्दै उनले वर्तमान सत्ता गठबन्धनको ध्यान विकास र समृद्धितर्फ केन्द्रित भएको बताए ।
उनले भने, ‘अहिले नेपाली जनताले समग्रमा विकास र समृद्धि खोजेका छन् । राजनीतिक स्थायित्व होस् । राजनीतिक अराजकतातर्फ नजाओस् र विकासले गति लिओस् भने मुख्य चाहना छ । राजनीतिक नेतृत्व, पार्टी र गठबन्धनले विकास र स्थायित्वका लागि प्रयास गर्नुपर्छ ।’
नेपालको विकासका लागि विश्वभर छरिएर रहेका नेपालीको अनुभव, ज्ञान र साधनस्रोतको सुदपयोग गर्नुपर्ने उपदेशले मात्र अब काम नगर्ने जनाउँदै उनले नेपालभित्र विकासको नयाँ प्रक्रियाको सुरु भएको सन्देश दिन सक्नुपर्ने बताए ।
स्थायित्व र विकासको नयाँ प्रक्रिया सुरुआत गर्न सकेको खण्डमा छरिएर रहेका सबै नेपालीले आफ्नो अनुभव, सीप र साधनस्रोत नेपालमा प्रयोग गर्नसक्ने अवस्था रहने उनको भनाइ छ ।
नेपालमा विकास र राजनीतिको आधार बनाउन सके विदेशमा रहेका नेपालीहरू स्वतः आफ्नो ज्ञान, सीप र सम्पत्ति लिएर स्वदेश फर्कने वातावरण बन्ने उनले बताए ।
नागरिकता ऐन संसदबाट पारित गरेर गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक अन्य अधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको जानकारी गराउँदै उनले विधेयकमा गैरआवासीय नेपालीको हितलाई बढी ध्यान दिइएको बताए ।
अध्यक्ष दाहालले आज जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभल समारोहको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै उनले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्ने छन् । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।
अध्यक्ष दाहालले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार र आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्रियामा सहभागिता जनाउने छन् ।
दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उनको सचिवालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij