वेबटिभी खबर
दमौली । कोभिड-१९ को संक्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
सहायक प्रजिअ बरालका अनुसार ऋषिङ गाउँपालिका-२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाबाहेक अन्य क्षेत्रमा अतिआवश्यक कार्य र सेवाबाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij