वेबटिभी खबर
काठमाडौं । कोरोना भाइरस देशव्यापी फैलँदै गएपछि नियन्त्रणका लागि नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा लगाइएको छ । काठमाडौं उपत्यका हुँदै सुरु भएको निषेधाज्ञाको क्रम अहिले ५१ जिल्लासम्म पुगेको छ ।
गृहमन्त्रालयका अनुसार बुधबार दिउँसोसम्म ५१ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । निषेधाज्ञा जारी भएकामध्ये ३७ जिल्लामा पूर्ण र १४ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृहले जनाएको छ ।
काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्ने कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय गृहले कार्यान्वयन गरेको हो ।
हाल देशका २० जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित भेटिएका छन् भने १४ जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij